पोखरा । जेठ ८
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ ।



युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ । दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन् ।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ । त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए । त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन् ।
तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन् । उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन् । “घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,”उनले भनिन् । पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन् । यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ ।
त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ । अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने आजका अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताएका छन् । जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो ।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन्। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ । यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ ।
कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन् । राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन् ।
कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले हवन कुण्डमा हवन गरिरहेका छन् । यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ ।
जेठ १० गते दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुनेछ । उनीहरूले थाली नृत्यसमेत प्रदर्शन गर्नेछन् ।












