अन्जान परियार । तनहुँ, जेठ १९
घिरिङ गाउँपालिकामा अचार बनाउने सम्बन्धि तिनदिने तालिम सम्पन्न भएको छ । जलदेवि सामुदायिक सिकाई केन्द्रको आयोजनामा तथा घिरिङ गाउँपालिकाको समन्वयमा जेठ १६ देखि १८ गते सम्म सञ्चालित सो तालिममा वडा नम्बर १ का ३० जना महिलाहरूले सहभागिता जनाएका थिए ।



महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको आइतबार समापन कार्यक्रम गरियो । समापन समारोहमा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर स्वरोजगार बन्ने र उद्यमशीलताको दिशामा अघि बढ्न गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । ‘सीप सिकेर कर्म गर्ने हो भने आर्थिक अभाव हुँदैन’ अध्यक्ष थापाले भने, ‘सिकेको सीपलाई सदुपयोग गरेर आगामी दिनमा प्रशिक्षकको रूपमा स्थापित हुनुपर्छ ।’ अध्यक्ष थापाले उनले यस्ता तालिमहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने माध्यमका रूपमा लिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न वडामा फरक–फरक प्रकारका सीप विकास तालिमहरू प्रदान गर्दै आएको बताइन् । उनले यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन् ।
जलदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासिनी, माओवादी केन्द्र घिरिङ गाउँ कमिटीका उपाध्यक्ष रामजी अर्याल, वडा सदस्यहरू लक्ष्मी सुनार, माधव चन्द, पूर्व वडा सदस्य होमनाथ सिग्देल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी महिलाहरूलाई स्थानीय स्तरमै पाइने कच्चा पदार्थहरू आँप, कटहर, करेला, मासु लगायतका सामग्री प्रयोग गरी अचार बनाउन प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षक गायत्री नेपालीले अचार बनाउने विभिन्न विधिहरू सिकाइएको जानकारी दिइन् भने प्रशिक्षार्थीहरूको तर्फबाट वडा सदस्य लक्ष्मी सुनारले बोल्दै तालिमले व्यवसायिक आत्मनिर्भरता हासिल गर्न प्रेरणा दिएको धारणा राखिन् । कार्यक्रमको सञ्चालन सिकाई केन्द्रकी सचिव टिका माया आलेले गरेकी थिइन् ।












