तनहुँ । जेठ २१
भिमाद नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्दि कार्यक्रम बुधबार सम्पन्न भएको छ ।



सामाजिक विकास कार्यालयको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी, सेवा प्रदायक सामाजिक संघ संस्था, विद्यालयका प्रअ, स्वास्थ्य संस्था, बालक्लवका प्रतिनिधि, लगायत विभिन्न सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी जानकारी दिने तथा क्षमता विकास गर्ने उद्धेश्यले उक्त अभिमुखीकरण तथा क्षमता अभिवृद्दि कार्यक्रम भिमाद नगरपालिकाको सभाहलमा सन्चालन गरिएको हो ।
जिल्ला बालअधिकार समिति तनहुँकी अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा भिमाद नगर पालिकाका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू, बालमैत्री स्थानीय शासनका चरणहरु लगायतका विषयमा सफल बरालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले भिमाद नगरपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई आगामी २०८३ मङ्सिर ४ गतेसम्म बालमैत्री नगरपालिका घोषणाको लागि पूर्ण रुपले सहयोग गर्ने र गराउने गरि सामूहिक प्रतिवद्धता जाहेर गरेका थिए ।












