काठमाडौं । साउन २८
तनहुँको भिमाद सहित देशैभरका आवश्यक भएका स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पहल गरेकी छिन् ।



जिल्ला प्रशासन कार्यालयमा कामको बोझ बढि हुँदा सेवा प्रवाहमा ढिलाई र झन्झट भएपछि अत्यावश्यक स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल सुरु भएको छ । मन्त्री न्यौापानेले भिमाद सहित देशका विभिन्न स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि गृहमन्त्री रमेश लेखकसँग निरन्तर सम्वाद, छलफल र समन्वय गरेकी छिन् । मन्त्री न्यौपानेको समन्वय पश्चात् गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय स्थापना सहमती पत्र हालै अर्थ मन्त्रालयमा सहमति पत्र पठाएको छ ।
अर्थ मन्त्रालयले गृह मन्त्रालयको सहमतिको बारेमा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ । अर्थ मन्त्रालयको पत्र प्राप्ति पश्चात् सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले मंगलबार इलाका प्रशासन कार्यालयको लागि आवश्यक आर्थिक सुनिश्चितताको पत्रको लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको छ ।
अब अर्थ मन्त्रालयले सबै अध्ययन गरेपछि आर्थिक सुनिश्चितताको पत्र सामान्य प्रशासन मन्त्रालयलाई पठाउन बांकी नै रहेको बताईएको छ । अर्थ मन्त्रालयको पत्र प्राप्तीपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालको तर्फबाट मन्त्री न्यौपानेले मन्त्रीपरिषदको बैठकमा एजेन्डाको रुपमा लगिने र मन्त्रीपरिषदको निर्णयपछि मात्रै इलाका प्रशासन कार्यलय स्थापना हुनेछ । यी सबै प्रक्रिया पूरा हुन कम्तीमा पनि दुई/तीन महिना लाग्न सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।












