काठमाडौं । कार्तिक १७
सरकारले जेन–आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरेको छ ।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन–जी पुस्ताद्वारा भदौ २३–२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ ।’
गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए ।
यसअघि नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु हुँदा जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दी मारिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जना भने लुटपाट र आगजनी तथा आफैँले लगाएको आगो सल्किएर मृत्यु भएको हुनसक्ने आशंका छ ।
भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले अन्यको सूचीमा राखेको थियो ।












