तनहुँ । मंसिर १
लगातार तीन पटक उपाधी जित्दै शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पन्चमुनीदेव माविले कब्जा गरेको छ । शुक्लागण्डकी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आइतवार सम्पन्न प्रतियोगितामा १७ स्वर्णसहित पञ्चमुनिले उपाधी हात पारेको हो । साथै उसले ८ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । पञ्चमुनिदेव माविले पाँचौ, छैठौं र सातौं रनिङ शिल्ड प्रतियोगितामा निरन्तर प्रथम हुँदै शिल्ड आफ्नो पोल्टामा पारेको हो ।



यसैगरी अरनिको आवासीय माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कास्य हात पार्दै द्वित्तिय भयो । आधारभुत माविले ३ स्वर्ण, १ रजत र १ कास्य जित्यो । नेपाल पुलीस स्कुलले २ स्वर्ण, २ रजत र ३ कास्य हात पारेको छ । तालवेशी माविले १ स्वर्ण, ४ रजत र ३ कास्य जित्यो । जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना माविले १÷१ स्वर्ण जिते । पञ्चमुनिले २०७६ सालमा सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको थियो । २०७६ सालमै सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डमा हंशवाहिनीले शिल्ड जित्दा पञ्चमुनि द्वितीय भएको थियो ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विजेताहरुलाई पुरस्कार प्रदान गरे । प्रतियोगितामा विभिन्न दुरीमा छात्र छात्रा दौड, रिले दौड, हाइजम्प, त्रिपलजम्प, लङजम्प, ज्याभलिङ्ग थ्रो, सटफुट, भलिबल, कबड्डी विधा समावेश गरिएको शिक्षा शाखा प्रमुख नवराज चापागाईले बताए । छात्र, छात्रा तर्फको खेलकुद प्रतियोगितामा विद्यार्थीले ३० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।












