देवघाट । पुस ८
नेपाल सन्त समाजले धार्मिक क्षेत्रमाथीको आक्रमण र हिन्दु धर्मावलम्बीहरु मथि भईरहेको दमन तथा व्यक्ति हत्या रोक्न माग गरेको छ । देवघाटमा केन्द्रीय कार्यालय रहेको नेपाल सन्त समाजले मंगलबार विज्ञप्ति प्रकाशित गरि छिमेकी राष्ट्र बङ्गलादेशमा उत्पन्न राजनीतिक अस्थिरताको आडमा अल्पसंख्यक सनातन हिन्दु समुदायमाथि भईरहेको हिंसात्मक कार्य रोक्न माग गरेको हो ।



बंगलादेशमा हालै एक हिन्दुयुवा दीपुचन्द्र दासको अमानवीय क्रूर किसिमको हत्या भएको र त्यसयता एक पछि अर्को गरी आस्थाकै आधारमा भइरहेका हिन्दुहरूको मन्दिरमा आक्रमण, निजी घर र व्यवसायमा आगजनी, महिलामाथि बलात्कार, निर्वासन, धर्म परिवर्तनका लागि दबाब तथा निर्दोष नागरिकहरूको हत्या जस्ता घटनाहरू ज्यादै निन्दनीय भएको समाजले जनाएको छ ।
कुनै पनि मानिसमाथि हुने यस्ता अमानवीय र असभ्य व्यवहारहरू कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै समाजले वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः भन्ने भावलाई आदर्श मान्ने सनातन हिन्दुधर्म मानवता, सहिष्णुता, करुणा र सहअस्तित्वको प्रतीक भएको जनाएको छ । त्यस्ता सनातन आस्थाका अनुयायीहरूमाथि भइरहेको अत्याचार कुनै एक समुदायमाथिको होइन, सम्पूर्ण मानवता र नैतिकतामाथिको आक्रमण हो भएको र धर्मका नाममा हुने हिंसा तत्काल रोकिनुपर्ने नेपाल सन्त समाजले ठहर गरेको छ ।

न्याय, मानवता र आस्थाको स्वतन्त्रताको रक्षा अनिवार्य भएको भन्दै समाजले धार्मिक क्षेत्रमाथि आक्रमण र व्यक्तिहत्याजस्तो सम्वेदनशील विषयमा जिम्मेवार बनी आफ्ना जनताको जिउधनको सुरक्षाको प्रत्याभूति दिलाउनु र यस्ता आततायीको खोजी गरी अतिशीघ्र दोषीलाई कारबाही गर्नु राज्यको प्रमुख कर्तव्य र दायित्व पनि भएको जनाएको छ ।
नेपाल सन्त समाजका अध्यक्ष एवं देवघाट स्थित हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र महासचिव आचार्य गुरुप्रसाद सुवेदीले प्रकाशित गरेको विज्ञप्तिमा बङ्गलादेश सरकारसँग यथाशीघ्र अल्पसंख्यक हिन्दु समुदायको जीवन, धार्मिक आस्था र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय समुदाय तथा मानवअधिकारकर्मी संस्थाहरूसँग यस्ता मानवअधिकार विरोधी गतिविधिहरूमा स्पष्ट दृष्टिकोण सहित प्रभावकारी हस्तक्षेप गर्न र नेपाल सरकारसँग आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न र कूटनीतिक पहल गरी समस्याको समाधान गर्न नेपाल सन्त समाज तथा समस्त स्वधर्मप्रेमी नेपाली नागरिकहरूका तर्फबाट जोडदार माग गरिएको छ ।












