देवघाट । पुस ९
प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने तयारी पुरा भएको छ । बुधबार देवघाट क्षेत्र विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरि देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र बनाउने सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । आगामी पुस ११ गते भरतपुर–१ को देवघाट बसर्पाकमा बृहत कार्यक्रमको आयोजना गरि देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको छ ।



तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको धार्मिक क्षेत्र देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैक्रममा गत आइतबार बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । देवघाटमा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फुल प्रसाद ल्याएर उक्त प्लास्टिक नदी क्षेत्रमा छाडेर जाँदा वातावरण प्रदुषण हुने गरेको भन्दै देवघाटको स्वच्छता कायम राख्न देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरे अनुसार संरक्षण र व्यवस्थापनलाई राज्यले उच्च प्राथमिकतामा राखेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारीले बताए । पवित्र धार्मिक तिर्थस्थल देवघाटधामलाई सुन्दर, सभ्य र समृद्ध क्षेत्र निर्माणमा र नारायणी नदिको स्वच्चता परम्परागत महत्वलाई दिगो रुपमा कायम राख्न तथा देवघाटधाममा बढ्दो प्लास्टिक प्रदुषणका कारण वातावरण, नदिनाला तथा धार्मिक मर्यादामा नकारात्मक असर परिरहेको हुँदा देवघधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको अध्यक्ष डा. लौडारीले बताए ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान गरिएको अध्यक्ष डा.लौडारीले जानकारी दिए । प्लास्टिक निषेधित क्षेत्र घोषणा पश्चात् देवघाटधाम क्षेत्र भित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, ४० माइक्रोन भन्दा पातलो बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामाग्रीको प्रयोग क्रमशः निषेध गरिनेछ । साथै वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरिने कार्यकारी निर्देशक बरालले बताए ।
नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले देवघाटमा प्लास्टिक निषेधित अभियान सञ्चालन गरेको हो । यस पवित्र तीर्थस्थलमा टाढाटाढाबाट तीर्थालु आउने गरेका भन्दै यस अभियानले नदीलाई सफा र हराभरा रुपमा बग्न मद्धत पुग्ने अध्यक्ष लौडारीले बताए । फोहोर व्यवस्थापन गर्न सकिएन भने जलचरमा ठुलो समस्या आउने उनले बताए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले प्लास्टिकजन्य फोहरलाई निरुत्साहन गर्नका लागि देवघाट क्षेत्र विकास समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको जानकारी दिए । प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उनले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालले जानकारी दिए ।
धार्मिक क्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो रहेको भन्दै प्लाष्टिक जन्य फोहोर व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताए । नारायणी नदीको सरसफाईलाई व्यवस्थित बनाउनका लागि आफूहरुले तीन वर्षदेखि काम गरिहेको बताउँदै अहिले ‘नदी संगै हामी अभियान’ मा १३ वटा संस्था लागेको बताए । यो अवधिमा विभिन्न संघ संस्थासंग मिलेर सरसफाई सम्बन्धी १५० भन्दा बढी कार्यक्रम गरिएको उनले बताए । देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समिति र सहमति संस्था विच यस अघि देखी निरन्तर छलफल हुँदै आएको थियो ।












