तनहुँ । माघ ११
तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तनहुँ जिल्लामा भएका अधिकांश विकासका काम नेपाली काँग्रेसकै नेतृत्व र पहलमा सम्पन्न भएको दाबी गरेका छन् । नेपाली काँग्रेस व्यास नगर समितिद्धारा शनिबार दमौलीस्थित विपी स्मृति भवनमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो तनहुँमा भएका ९९ प्रतिशत विकासका काम काँग्रेसकै कारण सम्भव भएको बताए ।



सडक, शिक्षा, स्वास्थ्यदेखि पूर्वाधारसम्म हरेक ठूला परिवर्तनमा काँग्रेसको स्पष्ट योगदान रहेको भट्टराईले दाबी गरे । राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई समाजसेवाको बलियो आधार भएको उल्लेख गर्दै उनले उपनिर्वाचनमा पराजित भएपनि जनताको सेवा र पीडा समाधानका लागि सिंहदरबारसम्म धाएर बजेट व्यवस्थापन गरेको बताए । नेता भट्टराईले जिल्लाका अस्पतालहरूको स्तरउन्नति, आधारभूत तथा दीर्घकालीन पूर्वाधार निर्माण, साथै धार्मिक र पर्यटकीय स्थलहरूको समग्र विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले यसपटक काँग्रेसको जीत सुनिश्चित रहेको दाबी गरे । उपनिर्वाचनमा एमालेका मतदाताले आफ्नै उम्मेदवारलाई मत नदिएको तथा माओवादीको प्रभाव रहेको वडाबाट समेत अपेक्षित मत नआएकाले पराजय व्यहोर्नु परेको उनको भनाइ थियो । न्यौपानेले समानुपातिकतर्फ काँग्रेसले पाएको मत बराबर नै गोविन्द भट्टराईले प्रत्यक्षतर्फ मत पाएको उल्लेख गर्दै यसपटक पार्टी संगठन थप मजबुत बनेको र विकासको आधार पनि काँग्रेसकै भएकाले जीतको बलियो आधार तयार भएको बताए ।
व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन सचिव सुरेश पुरीले गरेका थिए । सो अवसरमा विभिन्न संघ सस्थामा विजयी भएका पदाधिकारी तथा सदस्यलाई सम्मान गर्नुका साथै बधाई ज्ञापन गरिएको थियो ।












