देवघाट । माघ २४
पवित्र धार्मिक स्थल देवघाटधाममा गत सोमबारदेखी जारी शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवमा मुख्य आकर्षण कथा वाचिका देवी प्रतिभा भएकी छिन् ।



देवीलाई हेर्न टाढा टाढाबाट भक्तजन देवघाट आएका छन् । शनिबार महायज्ञमा भक्तजनको भिड लागेको थियो । नेपालकी चेली देवी प्रभिभा भारतको बृन्दावनमा बसेर कथा वाचन गर्दै आएकी छिन् । उनी भारत तथा अन्य तेश्रो मुलुकमा पनि निकै लोकप्रिय छिन् । देवघाटमा उनको दोश्रो कथा वाचन हो । यस अघि पहिलो पटक गत वर्ष इश्वरकृष्ण महाराजको संकल्पमा आयोजित देवघाट महा महोत्सवमा कथा वाचन गर्न देवघाट आएकी थिइन् ।
देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ गरिएको हो । उक्त धार्मिक महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।

देवघाटमा रहेको निकै पुरानो दुर्गा पान्चायन मन्दिरको जिर्णाेद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव गर्न लागिएको महायज्ञका संकल्पकर्ता एवं भागवत बाचक आचार्य शीतल कृष्ण महाराजले बताए । ऋषिमुनीहरुको तपोभुमीको रुपमा लिइने तथा पवित्र त्रिशुली र कालीगन्डकीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पुण्य प्राप्त हुने विश्वास छ ।
दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको अग्नीधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका संकल्पकर्ता आचार्य शीतल कृष्णले बताए । महायज्ञको क्रममा तनहुँ तर्फ मन्दिर रहेको स्थानमा १११ चण्डीपाठन तथा अग्नीधुनीमा चरु हवनको कार्यक्रम हुने र चितवन तर्फ नारायणी किनारमा निर्माण गरिएको विशाल पाण्डालमा नियमित कथा वाचन, भजन र नृत्यका कार्यक्रम तथा साँझमा गन्डकी आरती हुनेछ ।
उक्त महायज्ञमा संकल्पकर्ता शीतलकृष्ण आचार्य सँगै, इश्वरकृष्ण, दिनबन्धु पोख्रेल, नारायण न्यौपाने, कुवेर सुवेदी लगायत कथा वाचकहरुले भागवत कथा बाचन गर्नेछन् । उक्त धार्मिक अनुष्ठान मार्फत राष्ट्रको शान्ति तथा समाजको समृद्धि र मानव कल्याणको कामना गरिने छ ।
उक्त माघ–महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक कपिलदेव भुषालले बताए । माघ महिनाको पवित्र अवसरमा आयोजना हुने यस धार्मिक पुण्य लाभ लिन सबै श्रद्धालु भक्तजनहरुमा महोत्सवका संयोजक तथा दुर्गा पान्चायन मन्दिरका अध्यक्ष गोपिचन्द्र भुषालले अनुरोध गरे ।












