तनहुँ । माघ २९
घिरिङ गाउँपालिकामा एचपिभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । यही माघ २९ गतेदेखी फागुन ५ गतेसम्म विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाईने कार्यक्रम रहेको हुँदा उक्त खोप कार्यक्रम सफल पार्न गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम घिरिङमा आयोजना गरिएको हो ।



यस वर्ष घिरिङ गाउँपालिकामा १३ विद्यालय र ८ खोप केन्द्रबाट १०२ जना किशोरीलाई उक्त खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।
सो कार्यक्रममा गाउँ पालिका खोप समन्वय समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउनुपर्ने बताए । गत वर्षको अभियानको क्रममा एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, विभिन्न वडाका अध्यक्षहरु तथा साभुङ स्वास्थ्य चौकीका प्रमुख मनप्रसाद रानाभाट तथा अन्य स्वास्थ्यकर्मीहरुले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तव्य जनस्वास्थ्य अधिकृत सुविन श्रेष्ठले र कार्यक्रममा प्रशिक्षण भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका सुदन अधिकारीले दिएका थिए ।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । शाखाका अनुसार २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।












