तनहुँ । माघ २९
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपक राज जोशीले जनताको विश्वास, सहभागिता र सुझावकै आधारमा विकास र सुशासनको स्पष्ट कार्ययोजना अघि बढाइने बताएका छन् ।



विहिबार व्यास नगरपालिकाको वडा नम्बर ६, ७ र ९ का विभिन्न स्थानमा मतदातालाई भेट्दै जोशीले स्थानीय नागरिकहरूले अब नारामा होइन, काम गर्ने, जवाफदेही र विश्वास गर्न सकिने प्रतिनिधि छान्नुपर्ने आवश्यक रहेको बताए । उनीहरूले आफ्नो समस्या बुझ्ने, जनतासँग निरन्तर सम्पर्कमा रहने र वास्तविक परिवर्तनका लागि काम गर्ने नेतृत्वको अपेक्षा व्यक्त गरेका थिए ।
जोशीले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै सत्यनिष्ठा, पारदर्शिता र जनउत्तरदायित्वका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनपछि पनि जनतासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने बताए । घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार जोशीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिक जीवनसँग सम्बन्धित समस्या, विकासका आवश्यकता तथा स्थानीय प्राथमिकताबारे विस्तृत छलफल गरोका थिए । नागरिकहरूले विशेष गरी सडक, खानेपानी, स्वास्थ्य, रोजगारी, शिक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विषयहरू उठाउँदै समाधानमुखी नेतृत्वको अपेक्षा व्यक्त गरेका थिए ।
यसैक्रममा वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, जनताको बढ्दो असन्तुष्टि तथा अबको राजनीतिक दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा समेत अन्तरक्रिया गरिएको थियो । स्थानीय बासिन्दाहरूले प्रत्यक्ष संवादको शैलीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आशा र विश्वास व्यक्त गरेका थिए ।












