तनहुँ । चैत ३
वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ को अवसरमा म्याग्दे गाउँपालिकामा वृहत् सचेतना ¥याली सम्पन्न भएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजनामा भएको कार्यक्रममा हजार जना भन्दा बढिको सहभागिता रहेको थियो ।




म्याग्दे गाउँपालिका–४ थर्पु बजारदेखि वडा नं. २ जामुनेसम्म निकालिएको ¥यालीमा म्याग्दे, शुक्लागण्डकी, व्यास र रिसिङ्ग क्षेत्रका करिब ५० सामुदायिक वन उपभोक्ता समूह सहभागी भएका थिए । ¥याली मार्फत वन डढेलो नियन्त्रणबारे जनचेतना फैलाइएको थियो ।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रेष्ठले डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा सचेत हुनुपर्नेमा जोड दिए । डढेलो लाग्न नदिने र लागेमा तुरुन्त नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानीजानी डढेलो लगाउने प्रवृत्ति रोक्नुपर्ने बताए । त्यसो गर्न सके डढेलो स्वतः कम हुने उनको भनाइ थियो ।
सो अवसरमा डिभिजनल वन अधिकृत मनोज रानाभाटले वन डढेलो नियन्त्रणमा सचेतना मुख्य आधार भएको बताए । उनले यस वर्ष तनहुँलाई डढेलोमुक्त बनाउने लक्ष्य राखिएको र सफल सामुदायिक वनलाई पुरस्कृत गरिने जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले उपभोक्तालाई सक्रिय बनाउने अभियान सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा डिभिजन वन कार्यालयका वन अधिकृतहरू, सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँ, स्थानीय महासङ्घका प्रतिनिधि, वन पैदावर व्यवसायी महासंघ पदाधिकारी तथा सव–डिभिजन कार्यालय म्याग्देका कर्मचारीको उपस्थिति थियो । सो अवसरमा डढेलो नियन्त्रण सामग्री प्रदर्शन, पर्चा वितरण र जनचेतनामूलक नारा प्रदर्शन गरिएको थियो ।
वन तथा वातावरण मन्त्रालयले आइतबारबाट ‘वन डढेलो व्यवस्थापन सचेतना सप्ताह २०८२’ सुरु भएको छ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ वन डढेलो व्यवस्थापन सचेतना सप्ताह सुरु भएको हो । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सचेतना सप्ताह’ मनाइँदै आएको छ ।

वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाईएको हो । यो सप्ताहमा वन डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गराउने विभिन्न कार्यक्रम सन्चालन हुनेछन् । यो अवसरमा डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।

सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचार प्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।












