तनहुँ । चैत १६
तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा पालिकाहरुमा जनसंवाद गर्ने भएका छन् । निर्वाचनका बेला आफुले मतदातासँग एउटा महत्वपूर्ण प्रतिबद्धता गरेको भन्दै न्यौपानेले सोही अनुसार हरेक तीन महिनामा प्रत्येक पालिकामा प्रत्यक्ष भेटेर संवाद गर्ने बताए ।



उक्त प्रतिबद्धता अनुसार आफुले नियमित रुपमा जनतासँग संवाद गर्ने सांसद न्यौपानेले बताए । ‘हामी नयाँ आर्थिक वर्षको बजेट नजिक आइरहेका छौं, यही सन्दर्भमा अब योजनाहरूको पहिचान माथिबाट होइन, तपाईंकै बीचबाट गरिनेछन्’ सांसद न्यौपानेले भने ‘म तपाईंहरूको घरदैलोमै आउँदैछु, तपाईंका समस्या सुन्न, तपाईंका सुझाव लिन, र तपाईंहरूसँगै बसेर योजनाको पहिचान गर्न ।’
साथै सोही अवसरमा आफुले र सरकारले गरेको प्रगति सुनाउने पनि न्यौपानेले बताए । खानेपानी, सिँचाइ, तटबन्ध, सडक, भवन, पुल, शिक्षा, स्वास्थ्य लगायतको विषयमा अब समस्याको पहिचान जनताकै सहभागितामा हुने सांसद न्यौपानेले बताए ।
एक नयाँ परम्पराको सुरुवात गर्न लागेको भन्दै सांसद न्यौपाने भने ‘जहाँ योजना कुनै पहुँच वा शक्ति होइन, जनताको आवश्यकता र प्राथमिकताले निर्धारण गर्नेछ ।’ उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज—सबैको उपस्थितिमा खुला रूपमा छलफल हुने तथा पहिचान भएका योजनाहरू पारदर्शी रूपमा सार्वजनिक गरिने र सम्बन्धित सरकारसम्म पु¥याइने बताएका छन् ।
‘म तपाईंलाई अनुरोध गर्दछु, यो कार्यक्रम तपाईंको हो, यो निर्णय तपाईंको हो, यो भविष्य पनि तपाईंको हो’ सांसद न्यौपानेले भने ‘आउनुहोस्, सक्रिय रूपमा सहभागी बनौँ, तनहुँ–२ लाई पारदर्शिता र जनसहभागिताको नमुना बनाऔँ ।’ उक्त जनसंवाद आगामी चैत २७ गते म्याग्दे गाउँपालिकाको सभाहलमा हुने भएको छ ।












