तनहुँ । चैत १६
नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसका अवसरमा तनहुँमा छ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा छ पत्रकार पुरस्कृत भएका हुन् ।



शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट छ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरिएको हो । रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, भाग्यशालाी ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष ओमकार आचार्य, मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका सल्लाहकार नारायण खड्कालाई पुरस्कृत गरियो ।
त्यसैगरि प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेल, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सङ्घीय परिषद् सदस्य राजकुमार श्रेष्ठ विवि, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व सहसचिव मिला दरैलाई प्रदान गरिएको छ ।

महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सुरज गुरुङ पत्रकारिता पुरस्कारको राशी रु पाँच हजार रहेको छ भने अन्य पुरस्कारको राशी जनही रु दश हजार रहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, शाखाका अध्यक्ष डिपी अधिकारी लगायतले उनीहरुलाई पुरस्कृत गरे ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे । नगरप्रमुख न्यौपानेले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पनि विकृति भित्रिएकाले पत्रकारहरु यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाको विकास र सुशासनका पक्षमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए । उनले पत्रकारिता पेशा अझ मर्यादित र विश्वसनीय बनाउन आवश्यक रहेको उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा जोड दिए । वरिष्ठ अधिवक्ता तथा नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक कमलामोहन वाग्लेले पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्ने बताउँदै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता स्वच्छ, निष्पक्ष र उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरु प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सम्मानित एवं शाखाका सल्लाहकार नारायण खड्का लगायतले पत्रकारिता क्षेत्रको चुनौतिका बारेमा धारणा राखेका थिए । शाखाका उपाध्यक्ष प्रताप रानाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण न्यौपानेले गरेका थिए ।












