तनहुँ । बैशाख १९
व्यास नपा ३ अनसन चौतारीमा ब्रर्दश चटपट सन्चालन गर्दै आएका अशोक प्रसाद डौलीयालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । डौलीयालाई अनुसन्धानको लागि शनिबार प्रहरीले दमौलीबाट पक्राउ गरेको हो ।



पोखराबाट चटपट खान आएकी दिपिका विश्वकर्मा र उनकी दिदीलाई जातीय विभेद झल्कने शब्द प्रयोग गरेको आरोप लागेपछि उनलाई कारवाही गर्न दलित अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । व्यास १४ का विश्व वुढा परियार, म्याग्दे १ का मिनबहादुर चदारो र व्यास १ का किनु विश्वकर्माले डौलीयालाई कारवाहीको माग गर्दै गत विहिबार जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद सम्बन्धि उजुरी दिएका थिए । सोही उजुरीको आधारमा डौलीयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताए । उनले ग्राहकसँग जातीय विभेद गरे/नगरेको भन्ने सम्बन्धमा सिसिटिभी फुटेज अध्ययन गरेपछि मात्र पत्ता लाग्ने प्रहरीको भनाई छ ।

‘भाइरल चटपटवाला’ को रुपमा चिनिने डौलीयाले जातीय विभेद गरेको भन्दै गत साता उनको पसलमा चटपट खान पोखराबाट आएकी दिपिका विश्वकर्माले आफ्नो टिकटक एकाउन्टबाट आरोप लगाएकी थिइन् । ‘सुरुमा जाने बित्तिकै बनाइरहेको चटपट चाख्नु त प्रभू भन्दै हातमा दिनुभयो, हामीले खायौं तर नुन र अमिलो लागेको थिएन, हामीलाई जे लाग्यो त्यही भन्यौ । करिब २०/२५ जनालाई पुग्ने गरी बाल्टी भरी चटपट बनाइरहेका पसल सन्चालक डौलियाले दिदी दिप्सनालाई पनि चटपट चाख्न दिनुभयो र दिदीले पनि मैलै जस्तै जवाफ दिनुभयो । उक्त जवाफ दिने बित्तिकै पसल सन्चालक डौलियाले भन्नुभयो यस्तो त नहुनुपर्ने के खाएर आउनु भएको थियो हामीलाई प्रश्न गर्नुभयो । म पण्डित पनि हुँ तपाईहरुको अनुहार हेरेर बुझिसकेको छु म विशेष तरिकाले बनाएर दिन्छु भनेर पुनः बनाएर चटपट दिनुभयो तर पिरो अत्याधिक थियो अन्य नुन र अमिलो खासै थिएन । पुनः हामी दिदीबहिनीले सोही गुनासो राख्यौं । मेरो दिदीलाई मोबाइल दिएर भिडियो बनाउन लगाएर नमिठो भन्नेहरुको नराम्रो होस भन्नुभयो’ दिपिकाले टिकटकमा भनेकी छिन् ।
‘हामीलाई दिएको चटपट र पानीपुरी नमिठो लागेको प्रतिक्रिया दिएपछि तपाईहरु हेर्दा एउटा जात जस्तो लाग्यो रे अनि हामीले भन्यौ कुन जात जस्तो लाग्यो र प्रश्न गर्यौं, उहाँको जवाफ थियो नाक नछेडेको देख्दा नेवार जस्तो लाग्छ भन्नुभयो । नाकसँग किन तुलना गर्नुहुन्छ कुन जात जस्तो लाग्यो भन्दा दमै, कामी र सार्कीमध्ये एक भनेर होच्याउनुभयो । मेरी दिदी हो हाम्रो सुन पसल छ भन्यौ सकारात्मक रुपमै लियौ । पैसा भुक्तानी गर्ने समयमा मेरा पनि दलित साथीहरु छन् ,मलाई त बिश्वास लाग्दैन तर किचनमा जानु त परैको कुरा पानी खाएको गिलास पनि माझेर जान्थे, मलाई माया लागेर आउँछ भन्ने शब्दले हामीको मन दुखेको छ’ दिपिकाले भनेकी छिन् ‘के हामीले खाएको भाँडा माझेर गइदिनुपर्ने के भन्न खोजेका हुन् हामीमा प्रश्न उब्जिएको उनीहरुले सामाजिक सन्जालमा प्रष्ट रुपमा व्यक्त गरेको सुन्न सकिन्छ । उक्त पसलमा रहँदासम्म त हामीले हल्का रुपमै लियौ तर पछि बुझ्दै जाँदा मनमा कता कता नरमाइलो अनुभूति भएपछि टिकटकमा राख्न बाध्य भएँ । हामी त हाम्रो तरिकाले त्यस ठाउँमा चटपट र पानीपुरी खाना पो गएको हो किन जातभात सोध्नुपर्यो ?’
चटपट सन्चालकले जातीय विभेद झल्कने शब्द प्रयोग गरेको र अपमानजनक व्यवहार गरेको भन्दै उनलाई नेपालको संविधान तथा जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारवाही गर्न दलित समुदायले माग गरेका छन् ।












