तनहुँ । बैशाख २३
तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ मा ३० जनालाई मजदुर सञ्चित कोषमा आवद्ध गरेको छ । आर्थिक वर्ष ०८१/०८२ बाट कार्यान्वयनमा आएको उक्त कार्यक्रममा यस आर्थिक वर्षमा ३० जनालाई आवद्ध गराई उनीहरुसँग सम्झौता समेत भईसकेको छ । बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आवद्ध व्यक्तिहरुलाई सम्झौतापत्र हस्तान्तरण गरेका थिए ।




जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भएपनि न्यून वचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि गाउँपालिकाले ‘म्याग्दे गाउँपालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरेको थियो ।

उक्त कोष कार्यान्वयनमा ल्याउने म्याग्दे गाउँपालिका गन्डकी प्रदेशको दोश्रो र तनहुँको पहिलो स्थानीय तह हो । यस अघि स्याङजा जिल्लाको फेदिखोला गाउँपालिकाले उक्त कोष कार्यान्वयनमा ल्याएको थियो । पालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्ष्य गरी कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

उक्त सुचीमा सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुँदा प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरेपश्चात् पालिकाका तर्फबाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा वचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।

दैनिक ज्यालादारीमा कामगर्ने मजदुरको सम्पुर्ण आम्दानी दैनिक घर खर्चमा भएको अवस्था सगै मजदुरको वचत गर्ने वानीको विकास गर्न तथा श्रमिक वर्गलाई सामाजिक सुरक्षाको प्रत्याभुती गराउन उक्त कोष कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । श्रमिकको सम्भावीत आर्थिक संकटको जोखीम कम गर्दै, मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, आवास, पोषण, मर्यादित रोजगारी, सम्मानपुर्वक जिवनयापन, वचतको परिचालन, श्रमको सम्मान, उत्पादनकत्व अभिवृद्धि, सामाजिक आर्थिक विभेद अन्त्य गरि विकास निर्माणमा स्थानीय मजदुर लाई प्राथामीक्ता दिने उद्देश्यका साथ उक्त कोष कार्यान्वयन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।












