तनहुँ । जेठ १३
गणतन्त्र दिवस, जेठ १५ गते तनहुँमा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको उपलक्ष्यमा मनाइने गणतन्त्र दिवसको अवसरमा तनहुँमा दुई दिन विभिन्न कार्यक्रम गरिने भएको छ ।



गणतन्त्र दिवस मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार बसेको तयारी बैठकले दुई दिन विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । जस अनुसार जेठ १४ र १५ गते जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा राष्ट्रिय झण्डा सजाउने, पत्रकार महासंघको संयोजनमा गणतन्त्र दिवस सम्बन्धी समाचार, गतिविधि र सम्पादकीय प्रकाशन तथा परिसंवाद लगायतका कार्यक्रम गर्ने, साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते विहान दमौली बजार सरसफाई गर्ने, अनसन चौतारीमा नागरिकको स्वास्थ्यजाँच गर्ने, प्रदेश स्वास्थ्य कार्यालयको आयोजनामा व्यास १४ केशवटारमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने, ह्दयरोग प्रतिष्ठानको आयोजनाा निर्मल माविमा मुटुको परिक्षण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि जेठ १५ गते व्यास नगरपालिकामा झण्डोत्तोलन, दमौली बजारमा प्रभातफेरी, दमौली सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम, दमौली अस्पतालमा फलफुल वितरण र साँझ दिपप्रज्वलनको कार्यक्रम रहेको छ । साथै यस दिवसको अवसरमा स्थानीयतहहरुले पनि आ आफ्नो अनुकुलका विभिन्न कार्यक्रम गर्न सक्ने जनाईएको छ ।


जनआन्दोलन २०६२/६३ को जगमा भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतन्त्र घोषणा भएको दिनलाई सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने छ । यो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगको कार्यालयमा सार्वजानिक बिदा दिईएको छ ।
गणतन्त्र दिवसको उक्त कार्यक्रम सम्पन्न गर्न जिल्ला समन्वय समितिका प्रमुख वाग्लेको संयोजकत्वमा सबै स्थानीय तहका प्रमुखहरु, जिल्ला न्यायधिश, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, सहकारी, शिक्षण संस्था, ट्रेड युनियन, पत्रकार, मावनअधिकार लगायतका संघ संस्थाका प्रमुखहरु सदस्य रहेको मुल समारोह समिति पनि गठन गरिएको छ ।












