तनहुँ । जेठ १४
म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा पालिकाभर स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जेठ २१ गते पर्ने उक्त दिवसका दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



गाउँपालिकाले जारी गरेको सूचनाअनुसार उक्त दिन म्याग्दे गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा अन्य सङ्घसंस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुनेछ ।
नेपालको संविधानले प्रत्याभूत गरेको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै जातीय छुवाछुत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समाजबाट सबै प्रकारका जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न सांकेतिक र व्यावहारिक रूपमा यो निर्णय गरिएको बताए । नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण र सम्मान गर्दै कार्यपालिका बैठकबाट बिदा दिने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल सरकारले हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाउँदै आएको छ । स्थानीय सरकारका रूपमा म्याग्दे गाउँपालिकाले यस दिवसलाई विशेष महत्व दिँदै विविधताबीचको एकता तथा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता प्रवद्र्धन गर्न यो कदम चालेको जनाएको छ ।












