तनहुँ । जेठ १८
आँबुखैरेनी गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ । विश्व दुग्ध दिवसको अवसरमा सोमबार गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको ‘उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम’ अन्तर्गत गाउँपालिका क्षेत्रभित्रका दुग्ध उत्पादक कृषकहरूलाई प्रथम तथा दोस्रो चौमासिक अवधिमा उत्पादन गरेको दूधको आधारमा प्रति लिटर रु. ६ का दरले अनुदान रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।



चालु आर्थिक वर्षको प्रथम तथा दोस्रो चौमासिकसम्म गाउँपालिकाभित्रका कृषकहरूले कुल ३ लाख ५९ हजार १९०.४ लिटर दूध उत्पादन गरेका छन् । उक्त उत्पादनको आधारमा प्रति लिटर रु.६ का दरले जम्मा रु.२१ लाख ५५ हजार १४२.४० अनुदान रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस कार्यक्रमले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्दै कृषकहरूको आयआर्जन वृद्धि, व्यवसायीकरण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको अपेक्षा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
यस अवधिसम्म सबैभन्दा बढी दूध उत्पादन गर्ने कृषक चोल बहादुर गौली छन् । उनले कुल १४ हजार ६३५.७ लिटर दूध उत्पादन गरी प्रति लिटर रु.६ का दरले रु. ८७ हजार ८१४.२० अनुदान प्राप्त गरेका छन् । गौलीको मेहनत, लगनशीलता र व्यावसायिक कृषिप्रतिको समर्पण सम्पूर्ण कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको अध्यक्ष चुमानले बताए ।












