विश्व वातावरण दिवसको अवसरमा देवघाटमा सचेतनामुलक कार्यक्रम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ २२

विश्व वातावरण दिवसको अवसरमा सहमती संस्थाको आयोजनामा शुक्रबार देवघाटमा वातारण संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा देवघाटको वातावरण जोगाउन अब प्रणालीगत अभियान आवश्यक रहेको विषयमा वक्ताहरुले जोड दिएका थिए ।

देवघाट पवित्र धार्मिक तीर्थस्थल मात्र नभई वातावरणीय दृष्टिले पनि अत्यन्त संवेदनशील क्षेत्र रहेको भन्दै कार्यक्रममा सहभागीहरुले कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलका रूपमा परिचित देवघाटमा पछिल्लो समय नदी प्रदूषण, जथाभावी फोहोर व्यवस्थापन, वन विनाश, डढेलो, नदी उत्खनन तथा अनियन्त्रित मानवीय गतिविधिका कारण प्राकृतिक सौन्दर्य र पर्यावरणीय सन्तुलनमाथि चुनौती थपिँदै गएको बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले वातावरण संरक्षणलाई केवल नारामा सीमित नराखी व्यवहार र प्रणालीसँग जोड्नुपर्ने बताए । २०६९ सालमा देवघाट क्षेत्रमा वृहत रूपमा वातावरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको स्मरण गर्दै त्यसलाई निरन्तरता दिन नसकिएको उनको भनाई थियो ।

पछिल्लो समय पिकनिक स्पटदेखि सार्वजनिक स्थलसम्म प्रदूषण बढ्दै गएको उल्लेख गर्दै उनले वातावरण संरक्षणका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेट व्यवस्था गरी योजनाबद्ध रूपमा अघि बढ्ने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षण कुनै एक दिनको औपचारिकता नभई मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको दायित्व भएको बताएका थिए । बढ्दो वन विनाश, प्लास्टिकजन्य प्रदूषण, डढेलो तथा जलवायु परिवर्तनका कारण प्राकृतिक सन्तुलन बिग्रँदै गएको भन्दै सबै नागरिक सचेत बन्नुपर्नेमा जोड दिइएको थियो ।

नदी किनारमा फालिने फोहोर, प्लास्टिकजन्य वस्तु तथा ढुंगा–गिट्टीको अवैज्ञानिक उत्खनन रोक्न स्थानीय तहले कडा नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

सहमती संस्थाका अध्यक्ष बेलप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका फिल्ड अफिसर तारानाथ सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ऋषिङलाई पूर्णखोप सुनिश्चित घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण सम्पन्न

तनहुँ । जेठ २० ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा तथा दिगोपना सुनिश्चितता प्रमाणीकरण कार्यक्रम

विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका नौ स्थानीय तहमा सार्वजानिक बिदा

तनहुँ । जेठ २० विहिबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले