देवघाटका सामुदायिक विद्यालयमा उत्साहजनक नतिजाः कक्षा १२ मा ९४ प्रतिशत विद्यार्थी ग्रेडेड

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १०

देवघाट गाउँपालिकाले शिक्षा क्षेत्रमा पछिल्लो समय अघि बढाएका सुधारात्मक कार्यक्रमहरूको सकारात्मक प्रभाव देखिन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजाले गाउँपालिकाको शैक्षिक सुधार अभियान सही दिशातर्फ उन्मुख रहेको संकेत गरेको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको समग्र ग्रेडेड प्रतिशत ९४ पुगेपछि शिक्षा क्षेत्रमा उत्साह थपिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले शिक्षा क्षेत्रलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा अघि बढाइएको बताउँदै प्राप्त नतिजाले सुधार प्रयासको परिणाम देखाएको बताए। उनका अनुसार विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि, नियमित अनुगमन, प्रविधिमैत्री शिक्षण प्रणाली र विद्यार्थीमैत्री वातावरण निर्माणमा गरिएको लगानीले सकारात्मक प्रतिफल दिन थालेको छ ।

शिक्षा समाज विकासको आधार हो। सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहेको छ अध्यक्ष थापाले बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार विद्यालयहरूको नियमित अनुगमन तथा सुपरिवेक्षण, शिक्षकहरूको क्षमता विकास तालिम, सिकाइ उपलब्धिको मूल्याङ्कन, विद्यालय सुधार योजना कार्यान्वयन तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तारका कारण शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आएको छ । साथै पुस्तकालय व्यवस्थापन, सिकाइ सामग्रीको उपलब्धता तथा बालमैत्री वातावरण निर्माणमा समेत विशेष ध्यान दिइएको उनले जानकारी दिए ।

हालै सार्वजनिक कक्षा १२ को नतिजाअनुसार देवघाट गाउँपालिका अन्तर्गतका चार सामुदायिक विद्यालयका कुल ६७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ६३ जना ग्रेडेड भएका छन् भने ४ जना ननग्रेडेड रहेका छन् । यससँगै समग्र ग्रेडेड प्रतिशत ९४ पुगेको छ ।

विद्यालयगत विवरणअनुसार वडा नम्बर ५ स्थित कालिका माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी २८ विद्यार्थीमध्ये २७ जना ग्रेडेड र १ जना ननग्रेडेड भएका छन् । विद्यालयको ग्रेडेड प्रतिशत ९६.४२ रहेको छ भने उच्चतम जिपिए ३.३४ प्राप्त भएको छ ।

त्यस्तै वडा नम्बर २ को आदर्श शिक्षा माध्यमिक विद्यालयमा २६ विद्यार्थी सहभागी भएकामा २५ जना ग्रेडेड र १ जना ननग्रेडेड भएका छन् । विद्यालयको ग्रेडेड प्रतिशत ९६.१५ रहेको छ भने उच्चतम जिपिए ३.२० रहेको छ ।

वडा नम्बर १ स्थित पार्वती माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको छ । परीक्षामा सहभागी सबै ७ जना विद्यार्थी ग्रेडेड भएका छन् । विद्यालयको उच्चतम जिपिए ३.३१ रहेको छ । त्यस्तै वडा नम्बर ३ को भृकुटी माध्यमिक विद्यालयबाट सहभागी ६ विद्यार्थीमध्ये ४ जना ग्रेडेड र २ जना ननग्रेडेड भएका छन् । विद्यालयको ग्रेडेड प्रतिशत ६६.६६ रहेको छ भने उच्चतम जिपिए २.९० रहेको छ ।

लामिछानेले देवघाट गाउँपालिकाले आगामी दिनमा डिजिटल तथा प्रविधिमैत्री शिक्षण सिकाइलाई थप विस्तार गर्ने, शिक्षकहरूको पेशागत विकासलाई निरन्तरता दिने तथा विद्यालय स्वमूल्याङ्कन र उत्तरदायित्व प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ । प्रारम्भिक बालविकासदेखि माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर सुधार गर्दै सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको