तनहुँ । असार ९
व्यास नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका नदी, ताल, पोखरी तलैया, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न नगरवासीलाई अनुरोध गरेको छ । नगरपालिकाले मंगलबार सुचना प्रकाशित गरि नगरपालिका क्षेत्र भित्र जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न, जलस्रोत र जलचरमा आश्रित समुदाय बिचको आध्यात्मिक तथा साँस्कृतिक अन्तर सम्बन्ध र अन्तर निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवद्र्धन गर्न अनुरोध गरेको हो ।



यसको व्यवस्थापन गरी नागरिकको आर्थिक हितको समेत सम्बद्र्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा २२६, जलचर संरक्षण ऐन, २०१७ को दफा ५ ग र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम व्यास नगरपालिकाले “व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन, २०८१” समेत जारी गरिसकिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट हुने अनुगमनका क्रममा मादी, सेती नदी तथा व्यास नगरपालिका क्षेत्र भित्रका कलेस्ती, छाब्दी, साँगे, बुल्दी, रिस्ती, मदी, खिरखादी जस्ता खोला, नाला र ताल, पोखरी, तलैयामा पाइने रैथाने प्रजातीका माछाहरु असला, सहर, फकेटा, बाम, बुदुना, गड्यौला, भित्ते लगायतका जलचरहरुको संरक्षण विपरित कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने जनाईएको छ ।
प्रतिबन्धित तथा गैरकानुनी कार्यहरु गरेमा दण्ड सजाय निम्त्याउने भन्दै नगरपालिकाले पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रुपमा गैरकानुनी हो भएको जनाएको छ । यस्तै नदी, ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय भएको पनि नगरपालिकाले जनाएको छ ।
यस्तै माछा मार्नका लागि बम वा अन्य विष्फोटक पदार्थको प्रयोग गर्न नपाइने तथा तोकिएको मापदण्ड विपरितका वा साना माछा समेत पर्ने मसिना जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाईएको छ । “व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन, २०८१” बमोजिम रात्रीको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको पनि नगरपालिकाले जनाएको छ । यसैगरि खोला तथा ताल किनारमा फोहर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्ने भन्दै अनुगमनका क्रममा यसको विपरित कार्य गरेको पाइएमा “व्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन, २०८१” बमोजिम कारवाही हुने नगरपालिकाले जनाएको छ ।
यसर्थ माछाको प्रजनन अवधि असार देखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गर्ने, मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरु जस्तैः असला, सहर, फकेटा, बाम, बुदुना, गड्यौला, भित्ते लगायतको वंश संरक्षण गर्ने, माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय, वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिम तर्फ उन्मुख गराउने, अनुमति प्राप्त जालको मात्र प्रयोग गर्ने, ताल, नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं, प्राकृतिक बहाव रोक्ने काम नगर्न तथा माछाको जलचरको महत्वबारे स्थानीय विद्यालय, युवा क्लब र कुमाल, माझी, दरै, बोटे लगायत नदिजन्य पेशा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरु गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।












