तनहुँ । असार १०
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट पेश गरेका छन् । बजेट प्रस्तुत गर्नु अघि स्थानीय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरि पारित गरेका थिए । तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले यस अघि नै आगामी आर्थिक वर्षको बजेट पेश गरिसकेका थिए भने बाँकी स्थानीय तहले बुधबार बजेट पेश गरेका हुन् ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत नगरेका स्थानीय तहले भने बुधबार नै नीति तथा कार्यक्रम पनि पेश गरेका थिए । पहिलो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत तथा पारित गरि दोश्रो सत्रमा बजेट प्रस्तुत गरेका थिए ।



स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त बजेटको वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिम सम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण खुलाउनुपर्नेछ ।
असार १० गते भित्र पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ । छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ । सुझावसहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस गर्नुपर्नेछ ।
स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रम तथा बजेटले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ र संघ, प्रदेश र स्थानीय तहमा आयोजना बाँडफाँटसम्बन्धी मापदण्ड, २०७६ मा भएका व्यवस्थाबमोजिम कार्यक्रम तथा बजेट तर्जुमा गर्ने व्यवस्था छ ।
व्यासको बजेट १ अर्ब ५० करोड

तनहुँका स्थानीय तह मध्ये सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ । व्यास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्व ५० करोड २० लाख १ हजारको अनुमानित आय व्यय प्रस्तुत गरेको छ । जसमध्ये चालु तर्फ ६८.१६ प्रतिशत अर्थात १ अर्व २ करोड ३७ लाख ६२ हजार र पुँजीगत तर्फ ३१.८४ प्रतिशत अर्थात ४७ करोड ८२ लाख ३९ हजार रहेको छ । नगर अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय सार्वजानिक गरेकी थिइन् ।
नगरसभाको ४५ औं अधिवेशनको पहिलो सत्रमा नगर प्रमुख बैकुण्ठ न्यौपानेले आगामी आर्थिक वर्षको ३१३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा नगरसभाका सदस्यहरु गौकुमारी न्यौपाने, रन सिंह नेपाली, यज्ञ शर्मा, जिवन गुरुङ, राधा विक लागयतले विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । व्यासको आगामी नगरसभा असार २७ गते हुने भएको छ ।
नगर सभामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नीति कार्यक्रम पेश गरेका थिए । व्यास नगरपालिकाले पुर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, व्यवस्थित बसोबास र भुमि व्यवस्थापन, वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुँद, सुचना तथा सन्चार, आदिवासी जनजाती, दलित उत्थान, अपाङ्गता, जेष्ठ नागरिक, सुरक्षित बैदेशिक रोजगारी र सुशासन तथा दक्ष जनशक्तिलाई मुख्य बुँदामा बर्गिकरण गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
भिमादको बजेट ६६ करोड ३४ लाख

यसैगरि भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ६६ करोड ३४ लाख ४५ हजारको बजेट पेश गरेको छ । बुधबार आयोजित नगरसभाको २२ औं अधिवेशनमा नगर प्रमुख दधिराज सुवेदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख शारदा खनालले आय व्यय प्रस्तुत गरेकी थिइन् । बिनियोजित बजेटको ७२ प्रतशित अर्थात ४७ करोड ७७ लाख ७२ हजार चालु तर्फ र २८ प्रतिशत अर्थात १८ करोड ५६ लाख ७३ हजार पुँजिगत तर्फ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलले जानकारी दिए ।
भानुको बजेट ८० करोड ८० लाख

भानु नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८० करोड ८० लाख ४८ हजार २९१ रुपैयाँको अनुमानित आय व्यय पेश गरेको छ । अठारौं नगरसभामा नगर उपप्रमुख उमा गोतामेले उक्त आय व्यय प्रस्तुत गरेकी थिइन् । बजेटका श्रोतहरुमा संघीय समानीकरण अनुदानबाट १२ करोड ५४ लाख ६९ हजार, संघीय सशर्त (चालु) ४० करोड ९१ लाख ९० हजार, संघीय सशर्त (पुँजीगत) १ करोड २ लाख ५८ हजार २ सय ७७, संघीय राजस्व बाँडफाँड ९ करोड ९६ लाख १६ हजार ७ सय ६३, प्रदेश समानीकरण अनुदान १ करोड ३८लाख ७ सय ५०, प्रदेश विशेष (पुँजीगत) २० लाख, प्रदेश समपूरक (पुँजीगत) ३६ लाख६६ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ९ लाख १२ हजार ९ सय २७ रहेको छ ।
नगर सभामा नगर प्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भानु नगरपालिकाले नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गरीने पनि नगरपालिकाको नीति छ । भानु नगरपालिकाले ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्व र समुन्नत भानु राम्रो’ भन्ने नारालाई आत्मसात गर्दै आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

त्यस्तै पूर्वाधार विकास तर्फ नगरपालिका स्तरका रुपान्तरणकारी तथा प्रतिफलमूखी आयोजनाहरू पहिचान मार्फत आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्राथमिकताका आधारमा आयोजना बैङ्क तयार गरी कार्यान्वयन गरिने’ भएको छ । बाह्रै महिना सहजरूपमा आवतजावत गर्न सक्ने गरी नगरपालिका स्तरीय सडकहरू स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
भानु साहित्य उद्यानमा निर्माणाधिन पूर्वाधारबाट नगरवासीहरुलाई लाभ पुग्ने गरी कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ । कृषिको आधुनिकिकरण, यान्त्रिकरण, व्यवसायीकरणका साथै बजारीकरणमा जोड दिँदै स्थानीय उत्पादनलाई बजारीकरण मार्फत कृषकहरूको आय आर्जन वृद्धि गर्न “स्थानीय उत्पादन हाट बजारमा सम्मान” अभियानका साथ कृषि हाट बजार सञ्चालन गरिने छ । माटोको गुणस्तर पहिचान गरी आवश्यक सुधारका लागि माटो परिक्षण कार्यक्रमलाई निरन्तरता दिनुका साथै उपयुक्त बाली तथा मलखाद सिफारिस गरिने छ ।
सम्भावनाका आधारमा बाली विशेषका उत्पादन पकेट क्षेत्र निर्धारण गरी सुन्तला, कागती, कफी, अदुवा, तोरी, निवुवा, उखु, रायो, लसुन लगायतका उच्च मूल्यका कृषि उपज उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइने छ । कृषि उत्पादनमा आधारित साना उद्योगलाई प्रवर्धन गरिने छ । कृषि औजार तथा रासायनिक मल सहज र सुलभ किसिमले उपलब्ध गराइने छ । कषि योग्य भूमी बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गरी कृषि तथा पशुजन्य व्यवसाय मार्फत आय आर्जन गर्न इच्छुक कृषक, कृषि फर्म र कृषि सहकारीलाई बाँझो जग्गामा उत्पादन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईने छ ।
बन्दीपुरको बजेट ६८ करोड ७८ लाख

यसैगरि बन्दीपुर गाउँपालिको आर्थिक वर्षको लागि ६८ करोड ७८ लाख ८० हजार ८४९ को बजेट प्रस्तुत गरेको छ । बुधबार आयोजित गाउँसभाको १९ औं बैठकमा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिका उपाध्यक्ष गुरुङले सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा बराबरको अनुमानित बजेट पेश गरेकी थिइन् । प्रस्तुत बजेटको श्रोतमा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा, अनिवार्य दायित्वतर्फ ४ करोड तथा लागत सहभागितातर्फ ४० लाख समावेश गरिएको छ ।
बजेट विनियोजन अनुसार पूर्वाधार विकासतर्फ १३ करोड १२ लाख ८३ हजार २८० रुपैयाँ ३० पैसा, आर्थिक विकासतर्फ २ करोड ९५ लाख, सामाजिक विकासतर्फ ९ करोड ३८ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १३ करोड ४० लाख ९७ हजार ५ सय ६९ तथा छ वटै वडाका पूर्वाधारसहित विभिन्न विषयगत कार्यक्रमतर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ ।

यसअघि गाउँसभाले गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको थियो । बन्दीपुरले ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार समृद्ध बन्दीपुर निर्माणको मुल आधार’ मुल नारा तय गरेको छ ।
बन्दीपुरले कृषि तथा पशुपन्छीपालन ब्यवसायलाई जोखिम कम गरि कृषि ब्यवसायलाई प्रोत्साहन गर्न कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने, दुग्ध उत्पादक सहकारीमा संस्थामा आबद्ध बन्दीपुर गाउँपालिका भित्रका कृषकहरुलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्नको लागि हाल दिदै आएको उत्पादनमा आधारित प्रति लिटर २ रुपैया कार्यक्रमलाई निरन्तरता दिने, पशु नश्ल सुधारको माध्यामवाट उत्पादन र उत्पादकत्व बृद्धी गरि दुध र मासुमा आत्मनिर्भरता आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्धेश्य अनुरुप कृत्रिम गर्भाधान मिसन कार्यक्रमलाई निरन्तरता दिनेछ । पशुपन्छी विकास कार्यक्रमको कार्यान्वयनमा प्राविधिक सहयोग प्रविधि प्रसार, आबश्यक समन्वय र सहजिकरणका लागि एक पालिका एक भेटेरिनी डाक्टर कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको छ ।
गाउँपालिका र प्रदेश सरकारसगँको सहकार्यमा बन्दीपुरे जनताले उपभोग गर्ने वस्तुहरूको उत्पादनलाई अभिवृद्धि गर्न साना उधोग स्थापनाको लागि आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध गराउँदै उधोग स्थापना गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने, निर्माणाधीन औधोगिक ग्रामको समयमा नै सम्पन्न गर्ने, स्थानीय आवश्यकताका आधारमा आय तथा रोजगार अभिवृद्धिका लागि महिला, दलित, आदिवासी/जनजाती र विपन्न समुदायलाई लक्षित गरी लघु उधम विकास (मेड मोडल) बमोजिम युवाहरूलाई सीपमूलक तालिम मार्फत नयाँ उधमी सिर्जना गर्ने, ग्रामीण पर्यटन भ्रमण बर्ष २०२६ कार्यक्रम मार्फत बन्दीपुर र बन्दीपुरको ग्रामीण भेगमा पर्यटन व्यवसायलाई थप बिस्तार र स्तरोन्नती , प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधार सुधार कार्यक्रमलाई जोड दिने, गण्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एंव पहाडकी रानीको उपनामले परिचित बन्दीपुरको ६ वटै वडामा पर्यटकीय स्थलहरूको दिगो विकासका, संरक्षण संवद्र्धन र प्रवद्र्धन गरी बन्दीपुर गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, पर्यटन डकुमेन्ट्री, पर्यटकिय गाउँ तथा होमस्टे प्रोफाईल तयार गरि डिजिटल मध्यमबाट प्रचार प्रसार गरि ग्रामीण पर्यटनको प्रबर्धन गर्ने तथा बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै प्रत्येक होम स्टेहरुको गुणस्तर सुधारका लागि नमुना होमस्टे निर्माणका लागि आवश्यकता अनुसारको तालिम र होमस्टे सर्किटको विकास गर्ने नीति लिएको छ ।
घिरिङको बजेट ५० करोड

यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ । घिरिङले आन्तरिक आय तर्फ ६ करोड १८ लाख ८६ हजार अनुमान गरेको छ । बजेटका श्रोत मध्ये गत वर्षको अल्या २ करोड, संघीय शर्सत अनुदान चालु १८ करोड १९ लाख, संघीय सर्शत अनुदान पुँजिगत ६२ लाख, संघीय समपुरक अनुदान २ करोड ५९ लाख, संघीय विशेष अनुदान पुँजिगत ९० लाख ५० हजार, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ७८ लाख, राजश्व बाँडफाँड ७ करोड ८५ लाख रहेको छ ।
त्यस्तै प्रदेश वित्तिय समानिकरण अनुदान १ करोड ५१ लाख, प्रदेश राजश्व बाँडफाँड ८१ लाख ५३ हजार, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख रहेको छ ।

विनियोजित बजेट मध्ये स्वास्थ्य तर्फ ९० लाख, कृषि तर्फ ३५ लाख, पशुपन्छी तर्फ लाख ३५ लाख, पुर्वाधार विकास तर्फ ४ करोड ६१ लख ५५ हजार, शिक्षा शाखा तर्फ २ करोड रहेकोे छ भने भुक्तानी दिन बाँकी ३ करोड २५ लाख रहेको छ ।
बधुबार आयोजित गाउँसभाको २० औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले नीति तथा कार्यक्रम र उपाध्यक्ष राधादेवी अधिकारीले आय व्यय प्रस्तुत गरेका थिए । घिरिङले कृषि, पुर्वाधार विकास र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
ऋषिङको बजेट ५३ करोड ६२ लाख

यस्तै ऋषिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५३ करोड ६२ लाख ५० हजार रहेको छ । गाउँ सभाको २१ औं अधिवेशनमा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् । जसमध्ये आन्तरकि आयबाट करोड ५० लाख आम्दानी हुने ऋषिङले अनुमान गरेको छ ।
त्यस्तै संघीय सरकारको वत्तियि समानीकरण अनुदान तर्फ १० करोड ३७ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख ९४ हजार, समपूरक अनुदान तर्फ ८५ लाख, सशर्त अनुदान तर्फ २४ करोड १९ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको वत्तियि समानीकरण तर्फ १ करोड २६ लाख ८० हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ९० लाख ० हजार, समपूरक अनूदान तर्फ ६० लाख अनुमान गरिएको छ ।

त्यस्तै चालू आर्थिक बर्ष २०८२/०८३ को बैक मौज्दात १ करोड ५० लाखको अनुमान गरिएको छ भने वविधि आय अन्तरर्गत तनहुँ हाईड्रोपावर मार्फत हस्तान्तरण हुने कुल ५० लाख अनुमान गरिएको छ । यस्तै गाउँसभाको उक्त अधिवेशनमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
देवघाटको बजेट ५५ करोड ५८ लाख

यसैगरि देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ५५ करोड ५८ लाख ६७ हजार को अनुमानित बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये चालु खर्च तर्फ ३९ करोड १७ लाख ५० हजार र पुँजिगत खर्च तर्फ १६ करोड ४९ लाख १७ हजार विनियोजन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले बुधबारको गाउँसभाको अधिवेशमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।
बजेटका श्रोतहरुमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त ८ करोड ३२ लाख, राजब वाँडफाडबाट ८ करोड ४५ लाख ३४ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल २२ करोड ५६ लाख ३२ हजार, पुँजीगत तर्फ १ करोड १२ लाख, संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ८६ लाख, संघीय समपुरक अनुदान ७० लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान ९७ लाख १ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त ४० लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश राजश्व बाँडफाँड ६० लाख र आन्तरिक आय ८ करोड अनुमान गरिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिईएको छ । उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आधारभुत आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिन तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको छ ।
यसैगरि यस अघि शुक्लागण्डकी नगरपालिकाले गत असार ८ गते १ अर्व १३ करोड र म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाखको बजेट प्रस्तुत गरिसकेको छ ।














