तनहुँ । असार १४
व्यास नगरपालिका क्षेत्र भित्र रहेका होटलहरुको अनुगमन र स्तरिकरण प्रमाणित गरिएको छ । व्यास नगरपालिका उप–प्रमुख तथा अनुगमन संयोजक इन्दिरा दरैको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी, क्षेत्रिय होटल संघ, होटल संघ तनहुँका पदाधिकारी, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई पदाधिकारी लगायत सञ्चारकर्मीहरुको संयुक्त टोलीले आइतबार होटलहरूको अनुगमन तथा स्तरीकरण गरेको थियो ।



अनुगमन पश्चात होटलहरुको गुणस्तरको आधारमा स्टिकर प्रदान गरिएको थियो । आइतबार व्यास नगरपालिका क्षेत्रमा पर्ने पृथ्वीराजमार्गका १७ वटा होटलहरुको अनुगमन गरिएको १३ वटा होटल ग्रेडिङमा पर्न सफल भएको छ ।
जसमा अति उत्तम (थ्री स्टार) श्रेणीमा एपेक्स हस्पिटालिटीद्वारा सन्चालित सिद्धार्थ होटल दमौली पर्न सफल भएको छ । सिद्धार्थ होटल थ्री स्टार पाउने तनहुँको पहिलो होटल बनेको छ ।

त्यस्तै हरियो १ तारा (मध्यम) सी ग्रेडमा ८ वटा होटल परेका छन् । जसमा मानुङ्गकोट रिसोर्ट प्रालि व्यास ५, दुना टपरी रेष्टुरेण्ट, व्यास ५ हाइवे ब्रेक ईभी पोइन्ट प्रालि व्यास १२, कैनी भिला क्याफे एण्ड रेष्टुरेन्ट, व्यास–१२, होटल हाइवे किङ्ग व्यास १२, बबिना होटल एण्ड रेष्टुरेन्ट, व्यास १२, ए वान क्याफे एण्ड रेष्ट्रो व्यास १२ र पिस प्याराडाइज रिसोर्ट, व्यास ४ रहेका छन् ।
त्यसैगरि सामान्य ग्रेड (डी ग्रेड) मा ४ वटा परेका छन् । जसमा ग्रिन हिल रेष्टुरेण्ट व्यास ५, होटल ड्रागन, व्यास ५, कन्टेनर कफी हब प्रालि व्यास १२ र रइस क्याफे एण्ड रेष्ट्रो व्यास १२ रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
अनुगमनमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उप–प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, खाद्य निरिक्षण अधिकारी पोखराका अशोक गौतम, क्षेत्रिय होटल होटल संघ, होटल व्यवसायी संघ, तनहुँ उद्योग वाणिज्य संघ, प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा अनुगमन गरिएका होटलमा प्रतिबद्धता पत्र टाँस गरिएको थियो । प्रतिबद्धतापत्रमा ‘मिति २०८३ असार १४ गते आइतबारका दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको होटल/रेष्टुरेन्ट निरीक्षण टोलीले मेरो होटल/रेष्टुरेन्टमा निरीक्षण गर्दा न्युनतम मापदण्ड पूरा गरी सन्तोषजनक मूल्याङ्कन चिन्ह (स्टीकर) प्रदान गरेकोमा यसलाई कायम राख्न निम्नलिखित कार्य गर्न म प्रतिबद्ध छु ।’ उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा ‘गुणस्तरीय सेवा ग्राहकहरुलाई उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छुट्टाछुटै राख्न, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थको प्रयोग गर्न, प्याकिङ्ग गरिएको खाद्यवस्तुको उपभोग्य मिति भित्र प्रयोग र बिक्री गर्न, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा र सुरक्षित राख्न, होटल परिसर, ट्वाइलेट, बाथरुम र भाँडा माझ्ने ठाउँहरु सफा राख्न, खाना पकाउने, खुवाउने व्यक्तिको व्यक्तिगत सरसफाई कायम राख्न, तोकिएको खाद्य पदार्थमा मापदण्ड भित्र रही खाद्य रंग तथा अन्य स्वीकृत खाद्य योगशील प्रयोग गर्न, ढाँटी झुक्याई कम गुणस्तरको खाद्य वस्तु विक्रि वितरण नगर्न, अभिलेखहरु व्यवस्थित तवरले राख्न र पहिचान पद्धती कायम राख्न, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेका अन्य दायित्वहरु पूरा गर्न प्रतिबद्ध छु ।’ उल्लेख गरिएको छ ।












