निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत, बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवद्र्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ ।

सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक (ADB), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ( JICA ) र युरोपेली लगानी बैंक (EIB ) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो ।

आयोजनाअन्तर्गत बाँध तथा हेडवक्र्स निर्माण (प्याकेज–१) को प्रगति ५९ प्रतिशत पुगेको छ। सोङदा–कालिका जेभीले निर्माण गरिरहेको १४० मिटर अग्लो मुख्य बाँधमा सेती नदीलाई डाइभर्सन सुरुङमार्फत पथान्तरण गरेपछि २०८१ चैत ७ गतेदेखि मुख्य बाँधको कंक्रिटिङ सुरु गरिएको थियो। हाल दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ तथा कंक्रिटिङ कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।

विद्युतगृह तथा उपकरण जडान (प्याकेज–२) अन्तर्गत समग्र प्रगति ७७ प्रतिशत पुगेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजमा भूमिगत संरचनाको उत्खनन शतप्रतिशत सम्पन्न भइसकेको छ भने विद्युतगृह, सर्ज ट्याङ्क, केवल सुरुङ र टेलरेसलगायत संरचनाको कंक्रिटिङ कार्य पनि सकिएको छ। हाल टर्बाइन, जेनेरेटर, मुख्य इन्लेट भल्भलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ। २१३.३ मिटर लामो पेनस्टक पाइपमध्ये २११.३ मिटर जडान सम्पन्न भई रङरोगन तथा परीक्षण भइरहेको छ।

त्यसैगरी, भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन (प्याकेज–३)को प्रगति ७८ प्रतिशत पुगेको छ। ३३ किलोमिटर लामो प्रसारण लाइनका लागि निर्माण गरिने ९४ वटा टावरमध्ये ७९ वटाको जग निर्माण र ६९ वटा टावर खडा गर्ने काम सम्पन्न भइसकेको छ। चितवनतर्फको रुख छपान कार्य सम्पन्न भई प्रतिवेदन बागमती प्रदेश वन निर्देशनालयमा बुझाइएको छ भने तनहुँतर्फको काम जारी छ।

यसबीच, एडीबी र जाइकाका प्रतिनिधिमण्डलले हालै आयोजनास्थलको निरीक्षण गरी निर्माण प्रगति तथा सामाजिक एवं वातावरणीय सुरक्षणका पक्षको समीक्षा गरेका छन्।

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका लागि ग्याविन संरचना निर्माण तथा आपत्कालीन सूचना प्रणालीका लागि साइरन जडानलाई प्राथमिकतामा राखेर काम भइरहेको आयोजनाले जनाएको छ।

जैविक विविधता संरक्षणका लागि आयोजना क्षेत्रमा मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको छ भने मादी नदी क्षेत्रमा ‘नो नेट लस’ सिद्धान्तअनुसार ‘मादी अफसेट योजना’ परिमार्जन गर्ने सहमति भएको छ।

आयोजना प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत हालसम्म ९६ वटा सामुदायिक विकास आयोजना सम्पन्न भइसकेका छन्। ट्रस पुल, झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा विद्यालय भवन निर्माणसहित सात वटा योजना कार्यान्वयनको चरणमा छन्।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–८ पल्ट्याङका मगर समुदायका महिलालाई बेमौसमी तरकारी खेती, वित्तीय साक्षरता तालिम, कृषि सामग्री तथा हाते ट्र्याक्टर वितरण गरिएको छ।

त्यसैगरी, मध्यवर्ती क्षेत्रभित्रको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रियालाई पारदर्शी बनाउन मुआब्जा निर्धारण समितिका पदाधिकारीलाई सुरक्षण नीति सम्बन्धी अभिमुखीकरण पनि सञ्चालन गरिएको छ।

यसैबीच, तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार भइसकेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ भने मुआब्जा निर्धारणका लागि प्रभावित क्षेत्रको स्थलगत अध्ययन र तथ्याङ्क सङ्कलन सम्पन्न भएको छ। आयोजनाको अन्वेषण सुरुङ पोर्टल निर्माण कार्य पनि सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित