विष्णु मगर । देवघाट, असार २८
देवघाट गाउँपालिका–५ देवपुर स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई लियो क्लब अफ भरतपुर युथले विद्यालय झोला वितरण गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले विद्यार्थीहरुलाई झोला वितरण गरेको थियो ।



कार्यक्रममा लियो क्लवका जोन चेयरम्यान तथा लियो क्लब चेयरम्यान आत्मराम पाण्डेले शिक्षामा गरिएको सहयोग नै समाज परिवर्तनको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानले विद्यार्थीको भविष्य उज्यालो बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले बालबालिकाको अनुहारमा मुस्कान ल्याउने यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक सोम थापाले बराह आधारभूत विद्यालयले विगतदेखि नै विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी दाताबाट स्टेशनरी सामग्री र भौतिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग प्राप्त गर्दै आएको जानकारी दिए । उनले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै यहाँ अध्ययनरत विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गरिरहेको बताए ।
प्रधानाध्यापक थापाले लियो क्लब अफ भरतपुर युथमार्फत झोला उपलब्ध गराएकोमा सुनिता आले र रामबहादुर आलेप्रति विशेष आभार व्यक्त गरे । आफ्ना दाइले अध्ययन गरेको विद्यालयलाई सम्झेर सहयोग गर्नु समाजका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गर्दै उनले आफू अहिले सोही विद्यालयको प्रधानाध्यापकका रूपमा विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरमा आएको सकारात्मक परिवर्तन प्रत्यक्ष देख्न पाउँदा गर्व लागेको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले पछिल्लो समय बराह आधारभूत विद्यालयलाई विभिन्न संघसंस्था र गाउँपालिकाबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए । उनले विद्यालयलाई देवघाटकै नमुना तथा स्मार्ट विद्यालयका रूपमा विकास गर्ने लक्ष्यअनुसार काम भइरहेको उल्लेख गर्दै प्राप्त सहयोगको प्रभावकारी सदुपयोग गर्न अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रमको सभाध्यक्षता लियो क्लब अफ भरतपुर युथका उपाध्यक्ष गरिमा उपाध्यायले गरेकी थिइन् । कार्यक्रममा लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लायन बालचन्द्र पोखरेल, नितिन बस्नेत, बराह आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिनमाया बाचे आले लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव लियो सुरेश रानाभाटले गरेका थिए । विद्यालय परिवार, स्थानीय सरोकारवाला तथा अतिथिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीको शैक्षिक यात्रामा नयाँ उत्साह, आत्मविश्वास र प्रेरणा थपेको आयोजकले जनाएको छ ।












