तनहुँ । साउन १६
प्रतिनिधि सभा सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउन विशेष पहलकदमी थालेका छन् । ‘जनगुनासो हाम्रो जिम्मेवारी, समाधान हाम्रो प्रतिबद्धता’ भन्ने अभियानका साथ सांसद न्यौपानेले जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयका प्रमुखहरूसँग छुट्टाछुट्टै भेट गरी सेवाग्राहीका समस्या समाधानबारे गम्भीर छलफल गरेका छन् ।



अनुगमनका क्रममा उनले प्रत्यक्ष रूपमा कार्यालय पुगेका सेवाग्राहीहरूसँग संवाद गर्दै उनीहरूका समस्या र गुनासा सङ्कलन गरेका थिए । नापी कार्यालयमा कर्मचारीहरूले कार्यालय समय बाहेक वा बिदाका दिनमा अतिरिक्त शुल्क लिएर मात्र फिल्डको काम गर्ने गरेको गुनासो आएपछि सांसद न्यौपानेले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका थिए । सो पश्चात् नापी कार्यालय प्रमुखले अबका दिनमा यस्ता गुनासा नआउने गरी व्यवस्थित सेवा प्रवाह गर्ने र सुधारका लागि तत्कालै कार्यालय बैठक राखी कदम चाल्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, मालपोत कार्यालयमा विगतको तुलनामा सेवामा सुधार आएको सेवाग्राहीहरूले बताएका छन् । मालपोत कार्यालय प्रमुखले कुनै पनि अतिरिक्त शुल्क नलिई पारदर्शी र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीले लामो लाइन बस्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै सांसद न्यौपाने र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ । दुवैको संयुक्त प्रयासमा आउँदो सोमबारसम्म थप उपकरण, स्टेसन र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारीले केही दिनभित्रै लाइन बस्नुपर्ने सास्तीको अन्त्य हुने गरी प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफलका क्रममा भूमि व्यवस्थापन, लालपुर्जा वितरण, किसानका लागि मलको समस्या र बजारमा देखिएको ग्यास अभाव जस्ता दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूमा पनि कुराकानी भएको सांसद न्यौपानेले जानकारी दिए । सांसद न्यौपानेले प्रतिनिधि सभा सदस्यको हैसियतले यी समस्या समाधानका लागि केन्द्र र जिल्ला स्तरमा आवश्यक समन्वय र निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सांसद न्यौपानेले प्रतिबद्धता भाषणमा होइन, फिल्डमा र नतिजामा देखिनुपर्छ भन्ने मान्यताका साथ आफू अघि बढेको बताए । उनले भ्रष्टाचार र सुशासनसँग सम्बन्धित कुनै पनि प्रकारका गुनासा वा अनियमितता भएमा प्रमाणसहित आफूलाई उपलब्ध गराउन जिल्लाबासीहरुमा अनुरोध गरेका छन् ।












