तनहुँ । साउन १८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरको आन्तरिक विवाद सतहमा आएको छ । खासगरि व्यास नगर समितिको संस्थापन पक्ष र संस्थापन इतरपक्षको विवाद कारवाहीको तहसम्म पुगेको छ । महाधिवेशन प्रतिनिधि राजु दाहालको अगुवाईमा संस्थापन पक्षलाई जानकारी नगराई गत साउन १५ गते व्यास नपा ११ को तनहुँसुरमा कार्यकर्ता भेटघाटको कार्यक्रम गरिएपछि उक्त विवाद छताछुल्ल भएको हो ।



रास्वपा व्यास नगर समितिले पार्टीका महाधिवेशन प्रतिनिधि राजु दाहालको साधारण सदस्यता खारेजीका लागि सिफारिस गरेको छ । नगर समितिको सोमबार बसेको बैठकले व्यास–३ बाट सदस्यता लिएका (सदस्यता नं. TAN १ K–००००१३६३४) दाहाललाई कारबाहीका लागि जिल्ला कार्यसमिति मार्फत केन्द्रीय अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
व्यास नगर सचिव भाग्यशाली ढुङ्गानाले जारी गरेको विज्ञप्ति अनुसार दाहालले विगतमा पार्टी गतिविधिमा अनावश्यक हस्तक्षेप, गुटबन्दी र सामाजिक सञ्जालमार्फत राजीनामा दिएर हिँडेका थिए । पछि २०८२ पौष २३ मा पुनः प्रवेशका लागि निवेदन दिएपछि २०८२ माघ १२ को बैठकले गुटबन्दी नगर्ने र इमान्दार रहने शर्तमा सदस्यता सक्रिय गराएको थियो ।
तर, पछिल्लो समय पुनः नगर, जिल्ला तथा प्रदेश अधिवेशनका क्रममा गुटबन्दी गरेको, नेतृत्वविरुद्ध कटाक्ष गर्दै भोजभतेर आयोजना गरेको, स्थानीय तहका पद बाँड्दै हिँडेको र रास्वपाको नाममा छुट्टै समूह गठन गरी साथीहरूलाई झुक्याएर भेला गराएको आरोप नगर समितिले लगाएको छ ।
पार्टी केन्द्रीय समितिको अन्तिम निर्णय नआउँदासम्म दाहाललाई पार्टीका कुनै पनि गतिविधि, बैठक वा भेलामा सहभागी नगराउन र संलग्न नगर्न रास्वपा नगर समितिले सबैमा सूचित गरेको छ ।
तथ्यहीन आरोप र चरित्रहत्याको प्रयासः दाहाल
यसैबीच, महाधिवेशन प्रतिनिधि राजु दाहालले नगर समितिको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले आफूमाथि लगाइएका आरोपहरू तथ्यहीन, पूर्वाग्रहपूर्ण र चरित्रहत्या गर्ने नियतले आएको दाबी गरेका छन् ।
‘कुनै व्यक्तिमाथि तथ्यबाहिर रहेर आरोप लगाउनु लोकतान्त्रिक मूल्य र प्राकृतिक न्यायको विपरीत हो । मैले व्यावसायिक कारणले विश्राम लिँदा दिएको निवेदन र नवीकरणको निवेदनको व्यहोरा सार्वजनिक गर्न चुनौती दिन्छु’ दहालले भनेका छन् ‘ती निवेदनको मर्मविपरीत कपोलकल्पित शब्द राखी तयार पारिएको कारबाही पत्र द्वेषपूर्ण छ ।’
शुरुवाती दिनदेखि खटिएका इमान्दार कार्यकर्तामाथि पक्षपात भइरहेको आरोप लगाउँदै दाहालले तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेप्रति चुनावमा कटाक्ष गर्नेहरू पुरस्कृत भई माथिल्लो तहमा मनोनित हुने प्रवृत्ति बढेको टिप्पणी गरे । आफू अन्यायको मुकदर्शक नबन्ने र सत्यका लागि कानूनी तथा लोकतान्त्रिक माध्यमबाट सशक्त प्रतिकार गर्ने बताउँदै उनले यो अभियान पार्टीविरुद्ध नभई भित्रिएको गलत प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारेका छन् ।












