तनहुँ । साउन २०
व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक पुरुषको प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।



बुधबार साँझ करिब ७ः१० बजे बुल्दीखोला किनारमा करिब ४०–४२ वर्ष उमेरका जस्तो देखिने एक पुरुष अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक दीपककुमार कार्कीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ। उद्धार गरिएका पुरुषको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको तथा अस्पताल लैजाँदासम्म बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अचेत अवस्थामा भेटिएका व्यक्तिको उपचार भइरहेको छ भने उनको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।












