उपभोक्ताको आय आर्जन र समृद्धीमा क्रियाशिल बन्दै देवघाटका सामुदायिक वन

Devghat Online

शेयर गरौ

देवघाट । साउन २०

देवघाट गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुले उपभोक्ताको आर्थिक समृद्धीको लागि काम गरिरहेका छन् । देवघाटमा रहेका मधुवन, रानीवन, चक्रवर्ती, सिता, देउती, सुनझाँक्री तथा सोलीघोप्टे सामुदायिक समुहले उपभोक्ताको आर्थिक समृद्धीको लागि मात्र नभई समुदायको विकासमा पनि काम गरिरहेका छन् ।

उनीहरुले कुनै न कुनै कार्यक्रमको माध्यमबाट उपभोक्ताहरुमा सचेतनाको कार्यक्रम सँगै उपभोक्ताहरुको आय आर्जनमा पनि भुमिका खेलिरहेका छन् । सामुदायिक वनहरू उपभोक्ताहरूको आर्थिक समृद्धि र जीविकोपार्जन सुधारमा महत्वपूर्ण खम्बाका रूपमा अगाडि बढेका छन् ।

परम्परागत रूपमा काठ र दाउरामा मात्र सीमित रहेका यहाँका वनहरू पछिल्लो समय व्यावसायिक र उत्पादनमुखी बन्दै गएका छन् । उपभोक्ताको आर्थिक समृद्धिमा देवघाटका सामुदायिक वनहरूले विभिन्न योगदान पु¥याएका छन् ।

बहुमूल्य जडीबुटी सर्पगन्धाको व्यावसायिक खेतीको मार्फत यहाँका सामुदायिक वनले आगामी वर्षबाट ठुलो आम्दानी लिने छन् । देवघाटको तल्लो भेगको हावापानी जडीबुटी खेतीका लागि निकै उपयुक्त मानिन्छ । यहाँका सामुदायिक वनहरूले दुर्लभ तथा उच्च औषधीय मूल्य भएको सर्पगन्धाको व्यावसायिक खेती सुरु गरेर आम्दानीको नयाँ बाटो खोलेका छन् ।

मधुवन सामुदायिक वनले सवडिभिजन वन कार्यालयको सहयोगमा ४ रोपनी क्षेत्रफलमा ८ हजारभन्दा बढी सर्पगन्धाका बिरुवा रोपेर व्यावसायिक सुरुवात गरेको मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरीले बताए । उत्कृष्ट कार्य गरेबापत मधुवनले गत वर्षको राष्ट्रिय स्तरको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ समेत प्राप्त गरिसकेको छ ।

वन समूहका अध्यक्ष गिरीका अनुसार यसअघि करिब साढे चार रोपनी क्षेत्रफलमा रोपिएका करिब ८ हजार सर्पगन्धाका बिरुवाको संरक्षणलाई प्राथमिकता दिँदै तीन दिनसम्म गोडमेल गरिएको थियो । अधिकांश बिरुवा अपेक्षा अनुसार हुर्किरहेको भन्दै उनले बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै भविष्यमा स्थानीय समुदायको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले भने, ‘वन संरक्षण कुनै एक संस्था वा व्यक्तिको जिम्मेवारी होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो, आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण, मानव स्वास्थ्य र आर्थिक समृद्धिको आधार तयार गर्छ । यसैले बिरुवा रोपेर मात्र होइन, त्यसको संरक्षणमा पनि सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’

सो कार्यक्रम अन्तर्गत २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवामध्ये प्रत्येक उपभोक्तालाई एक–एक वटा बिरुवा वितरण गरिएको अध्यक्ष गिरीले जानकारी दिए । वितरणपछि बाँकी रहेका बिरुवासहित समूहको आफ्नै नर्सरीमा उत्पादन गरिएका करिब १५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा दुई हेक्टर क्षेत्रफलमा रोपिएको उनले बताए ।

त्यस्तै चक्रवर्ती सामुदायिक वनले ४ हजार र रानीवन सामुदायिक वनले १ हजार बिरुवा रोपेका छन् भने कालिका र सुनझाँक्री सामुदायिक वनले प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण गरिरहेका छन् । यसबाट आगामी केही वर्षभित्रै उपभोक्ताहरूले प्रत्यक्ष र दीर्घकालीन आर्थिक लाभ लिने अपेक्षा गरिएको रानीवन सामुदायिक वन समुहका अध्यक्ष टुकनाथ अधिकारीले बताए । उक्त सामुदायिक वनले आय आर्जनकोलागि मंगलबार लाभग्राहीलाई अनुदान वितरण गरेको छ ।

त्यस्तै पर्या–पर्यटनको माध्यमबाट पनि यहाँका सामुदायिक वनले आम्दानी लिन थालेका छन् । पर्या– पर्यटनको विकास धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । देवघाट क्षेत्रमा रहेका सामुदायिक वनहरूले पर्या–पर्यटनका पूर्वाधार जस्तैः पार्क, वनभोज स्थल, र पदमार्ग निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको सिता सामुदायिक वन समुहका अध्यक्ष भानुभक्त न्यौपानेले बताए ।

पर्यटन बढ्दा स्थानीय स्तरमा होटल, पसल, र यातायात क्षेत्र फस्टाउन गई उपभोक्ताहरूको व्यापारिक आम्दानी वृद्धि भएको छ । त्यसैगरि वन पैदावार र कृषि–वनको माध्यमबाट काठ–दाउरा र घाँसपातः उपभोक्ताहरूलाई घर निर्माण, कृषि औजार र दैनिक प्रयोजनका लागि सहुलियत दरमा काठ–दाउरा उपलब्ध गराइँदा उनीहरूको घरायसी खर्च बचत भएको छ ।

त्यस्तै वनभित्र पर्याप्त मात्रामा पाइने अमिलो, निगुरो, कन्दमूल, र बाँस–बेत जस्ता सामग्री संकलन र बिक्री गरेर विपन्न परिवारले दैनिक आम्दानी गरिरहेका छन् । त्यसैगरि सामुदायिक वन उपभोक्ता समूहहरूको कानुनी व्यवस्था अनुसार कुल आम्दानीको निश्चित प्रतिशत रकम विपन्न वर्गको उत्थानमा खर्च गर्नुपर्ने हुन्छ । देवघाटका वनहरूले आफ्नो कोषबाट गरिब तथा पिछडिएका उपभोक्ताहरूलाई बाख्रापालन, कुखुरापालन, मौरीपालन र तरकारी खेतीका लागि बिना ब्याज वा सहुलियत ब्याजमा ऋण÷अनुदान उपलब्ध गराउँदै आएको चक्रवर्ती सामुदायिक वन समुहका अध्यक्ष डिलबहादुर गुरुङले बताए ।

यहाँका सामुदायिक वन समुहले स्थानीय युवा र महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर स्वरोजगार बन्न मद्दत गरेका छन् । स्थानीय पूर्वाधार विकास र रोजगारी सामुदायिक वनहरूले आफ्नो आम्दानी स्थानीय विद्यालय, स्वास्थ्य चौकी, खानेपानी र बाटोघाटो निर्माणमा लगानी गर्ने गर्छन् । यसका साथै वन गोडमेल, हेरचाह, र पर्या–पर्यटनका गतिविधिमा स्थानीय उपभोक्ताहरूले नै प्रत्यक्ष रोजगारी पाउने हुँदा गाउँमै आम्दानीको स्रोत जुटेको छ ।

पहिले झाडी ठानेर नष्ट गरिने वनस्पतिहरूलाई अहिले देवघाटका उपभोक्ताहरूले आम्दानीको मुख्य स्रोत बनाउन थालेको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले बताए । वनलाई संरक्षणसँगै उत्पादन र उद्यमशीलता सँग जोडेका कारण देवघाट गाउँपालिकाका सामुदायिक वनहरू उपभोक्तालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बलियो माध्यम बनिरहेको सामुदायिक वन उपभोक्ता महासंघ देवघाट स्थानीय महासंघका अध्यक्ष प्रविण कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि