बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २४

सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनसमेत कार्यालय खोलेर सेवा दिन थालेको छ । नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीका लागि बिदाको दिन दिइएको यो सेवाले सहजता थपेको छ ।

व्यास नगरपालिका–२ निवासी अपेक्षा सुनार पनि यसको प्रत्यक्ष लाभ लिने सेवाग्राहीमध्ये एक हुन् । सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सुनारलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन कठिन थियो । विद्यालयको पढाइ प्रभावित हुने भएकाले उनले बिदाको दिनको अवसरको फाइदा लिएकी छन् ।

प्रशासन कार्यालयले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिएकाले बिदाको दिन कार्यालय पुगेर उनले आफ्नो परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरेकी छिन् । “अरू दिन विद्यालय जानुपर्छ । बिदाको दिन कार्यालय खुलेर राष्ट्रिय परिचयपत्रको सेवा दिएपछि धेरै सहज भयो,” उनले भनिन् । सुनारको जस्तै समस्या धेरै विद्यार्थी तथा नियमित कार्यालय समयमा व्यस्त रहने सेवाग्राहीको छ ।

राष्ट्रिय परिचयपत्र अहिले विभिन्न सरकारी सेवा, राहदानीलगायतका काममा आवश्यक पर्ने महत्वपूर्ण परिचयपत्र बन्दै गएपछि यसको आवश्यकता बढेको छ । त्यससँग जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पनि पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ । राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शनिबार र आइतबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि नियमित कार्यदिनमा मात्रै सेवा दिँदा धेरै सेवाग्राहीले समय व्यवस्थापन गर्न समस्या भोग्नुपर्ने अवस्था आएको थियो । त्यसलाई ध्यानमा राखेर बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको हो ।

विशेषगरी विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथ नयमित कार्यालय समयमा आफ्नो काममा व्यस्त रहने नागरिकका लागि बिदाको दिनको सेवा प्रभावकारी हुने प्रशासनको अपेक्षा छ । कार्यालयले सेवाग्राहीका भीडलाई व्यवस्थित बनाउन टोकन प्रणालीलाई पनि प्राथमिकता दिएको छ । उनले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गरेका छन् । यसले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुँदा उत्पन्न हुने भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्ने उनको भनाइ छ । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण