तनहुँ । भदौ १५
भोटेकोसी नदीको बाढीमा परि ज्यान गुमाएका तथा हालसम्म पहिचान नभएका १४ वटा शवको व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा व्यवस्थापन गरिएको छ ।



तनहुँको आबुँखैरेनी र देवघाट गाउँपालिका स्थित त्रिशूली नदीमा फेला परेका ३७ वटा शव मध्ये दमौली अस्पतालमा राखिएका १४ शवको सोमबार उक्त जंगल क्षेत्रमा व्यवस्थापन गरिएको हो ।

हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । प्रजिअ तिवारीका अनुसार शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिएको थियो । आइतबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
शव पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गरिएको बताईएको छ । आवश्यक विवरण र नमुना सुरक्षित राखिने छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ । दमौली अस्पतालको शवगृहबाट शव बहानमा राखी नेपाली सेना र नेपाल प्रहरीले शव व्यवस्थापनकोलागि लगेको थियो ।
तनहुँ क्षेत्रमा आइतबारसम्म ३७ शव भेटिएकामा २३ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको थियो ।
यसैविच आबुँखैरेनी गाउँपालिका–५ स्थित त्रिशुली नदीको किनारबाट सोमबार थप एक शव भेटिएको छ । यो सँगै तनहुँको क्षेत्रमा भेटिएको शवको संख्या ३८ पुगेको छ । सोमबार भेटिएको शव दमौली अस्पतालको शव गृहमा राखिएको छ ।












