९ माघ, देवघाट
तनहूँको देवघाट गाउँपालिकाले घरवास (होमस्टे) को प्रचार प्रसार र प्रबद्र्धनकोलागि मगर संस्कृतिमा आधारित कौराहा गित तयार गरेको छ । वडा नम्बर २ मा रहेको करादिप सामुदायीक होमस्टेको प्रचार प्रसार तथा प्रबद्र्धन गर्न करादिप होमस्टे स्थलमा कौराहा गितको छायंकन गरिएको छ ।

प्रचार प्रसारको कमीले ओझेलमा परेको होमस्टेको प्रचार र प्रबद्र्धन गर्ने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गाउँपालिका समेतको लगानीमा कौराहा गितको छायांकन गरिएको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । गितको अडियो तयार गर्न देवघाट गाउँपालिकाले ५५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।



सो कौराहा गितको भिडियोमा गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले पनि अभिनय गरेका छन् । भिडियो तयार गर्न खर्च भएको दुई लाख ५० हजार रुपैयाँ मध्ये चितवनको नारयणगढ स्थित नारयणी वाटर एडभेन्चर प्रा.लि.का प्रबन्धक लेखनाथ पौडेल र स्थानीय व्यक्तिहरुबाट संकलन गरिएको थियो ।

गितको अडियो तथा भिडियोलाई बरिष्ठ लोकदोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङले निर्देशन गरेका छन् । गितमा सुमन आलेको स्वर तथा गाउँपालिकाका अध्यक्ष थापा, गाउँपालिकाका प्रेस सल्लाहाकार आशिक राना, सन्चारकर्मी खड्का आले मगर, हिमकुमार थापा, चन्द्रयोती थापा, शान्ती आले र नविना थापा लगायत कलाकारले अभिनय गरेका छन् ।
होमस्टेको प्रचार प्रसार र प्रबद्र्धन गर्दै स्थानीय कला, संस्कृती, भाषा, भेष भुषाको संरक्षण गर्ने उद्देश्यले गित निर्माण गरिएको निर्देशक बरिष्ठ लोकदोहोरी गायक गुरुङले बताए । गितको भिडियो तयार भएपछि विभिन्न ठाउँमा प्रर्दशन गर्ने र पर्यटकलाई आकर्षित गर्ने घन्टाचुली पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका खड्का आले मगरले बताए ।

मगर जातीको बाहुल्य रहेको करादिपमा दुई वर्ष अघिदेखी सामुयादीक होमस्टे सन्चालनमा आएको थियो । प्रचार प्रसारको अभाव तथा दुर्गम स्थानमा भएको कारण होमस्टेमा उल्लेख्य रुपमा पाहुनाहरु आएका थिएनन् । कोभिड–१९ को जोखिमको कारण गत वर्षदेखी बन्द रहेको होमस्टे मंसिरको पहिलो सातादेखी सन्चालनमा आएको थियो । करादिप वरपरका रमणीय दृश्यहरु समावेश गरि कौराहा गितको छायांकन गरिएपछि अव पाहुनाहरु बृद्धि हुने करादिप सामुदायीक होमस्टेका अध्यक्ष यामबहादुर थापा मगरले बताए ।












