दमौली, जेठ २

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँले ऐन तथा नियमावली विपरितको शिक्षक सरुवा बदर गर्न माग गरेको छ । संगठनका अध्यक्ष रघुनाथ पण्डितले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरि यस्तो ऐन तथा नियमावली विपरितको अवैध सरुवा तत्काल रोक्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेका छन् ।



हालै तनहुँका केही स्थानीय तहहरुले संघीय शिक्षा ऐन तथा नियमावलीसँग बाझिने गरि शिक्षकहरुको सहमति विपरीत केही शिक्षकहरुको सरुवा गरेको घटनाप्रति संगठनको ध्यानाकर्षण भएको अध्यक्ष पण्डितले जनाएका छन् ।
शुक्लागण्डकी नगरपालिका लगायत केही स्थानीय तहले संघीय शिक्षा ऐन तथा नियमावलीसँग बाझिने गरि शिक्षकहरुको सहमति विपरीत केही शिक्षकहरुको सरुवा गरेको विषयको बारेमा हाम्रो संगठनको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा सम्वन्धित पालिकाका शिक्षक नेतृत्व र शिक्षक साथीहरूसँग नियम विपरीत भएको सरुवाबारे डटेर मुकाबला गर्ने बारेमा यस अघि पटक पटक छलफल भएको जनाईएको छ ।
यसै सन्दर्भमा शुक्लागन्डकी नगरपालिकाका केही शिक्षक साथीहरू न्यायालयको ढोकासम्म पुग्नु भयो र त्यसमा संगठनको पनि साथ र समर्थन रहेको विज्ञप्तिमा जनाईएको छ । सम्मानित अदालतले पक्कै पनि न्याय दिनेछ भन्नेमा सबै आशाबादी भएको भन्दै विज्ञप्तिमा विधि, विधान र पद्धति विपरित गएर गरिने सरुवाको पक्षमा संगठन नभएको जनाईएको छ ।
त्यतिमात्र होईन, उक्त सरुवाको डटेर प्रतिवाद गर्ने तागत पनि हामीसँग छ र यस्ता गलत प्रवृत्तिको विरुद्ध शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको सशक्त आवाज हामीले खोजिरहेको पण्डितले जनाएका छन् । औपचारितामा मात्र नभै सशक्त ढंगवाट निर्णायक आन्दोलन महासंघकै नेतृत्वमा अघि बढोस्, हामी जोडदार माग गर्न चाहन्छौं भन्दै उनले पेशागत सुरक्षा र गुणस्तरीय शिक्षाको लागि स्थापना भएको र त्यसैको लागि लड्दैआइरहेको नेपाल राष्ट्रिय शिक्षक संगठन विधि, विधान र पद्धतिमा विश्वास गर्ने जनाएका छन् ।
यती नै बेला केही स्थानिय तहले पनि ऐन तथा नियमावलीको धज्जी उडाउँदै शिक्षकहरुको सहमति विपरित सरुवा गर्न लागिरहेको सूचना हामीले पाएका छौं भन्दै विज्ञप्तिमा शैक्षिक सत्र शुरु भैसकेको अवस्थामा पठनपाठनलाई तिव्र बनाउने बेला ज्ञान दिने गुरुहरुलाई आतंकित पारेर सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन्छ ? भन्ने प्रश्न गरिएको छ । यस्तो अवैध काम स्थानिय तहले नगरोस्, ऐन तथा नियमावली विपरित शिक्षक सरुवा नगरियोस् र नियम विपरित गरिएका सरुवा तत्काल बदर गर्न तथा ज्ञानको ज्योति प्रदान गर्ने गुरुको मानमर्दन नगरि काम गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।
अन्यथा पेशागत सुरक्षाको लागि आन्दोलनमा जान वाध्य हुनेकुरा जानकारी गराउँदै शिक्षकहरुको आवाजलाई थप बुलन्द पार्न सम्पूर्ण सरोकारवाला संघ, संगठन तथा महानुभावहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति तनहुँको तर्फबाट अपिल गरिएको छ ।












