प्रताप लाल श्रेष्ठ
श्रद्धेय जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल असार १४ गते शुक्रबार ताप्लेजुङ जिल्लाको ढुंगेसांघु गाविसको ठोट्ने भन्ने ठाउँमा भएको थियो । उहाँको बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारी हुनुहुन्थ्यो । उहाँको ६ जना दाजुभाई र ५ जना दिदीबहिनी हुनुहुन्छ र दाजुभाईमा उहाँ माइला हुनुहुन्थ्यो । तिक्ष्ण प्रतिभाका धनी मदन भण्डारीको वाल्यकाल ताप्लेजुङमा नै बित्यो । १५ वर्षको उमेरमा २०२४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण हुनुभयो । प्रवेशिका परीक्षा उत्तीर्णपछि उच्च शिक्षा हासिल गर्न उहाँ वृद्धावन जानुभयो । त्यसबेला देखि उहाँले आफ्नो नाम मोतीराज भण्डारी परिवर्तन गरी मदनकुमार भण्डारी राख्न थाल्नुभयो । बनारसमा अध्ययन गर्दै उहाँ राजनीतिमा आकर्षित हुनुभयो र सामन्ती राज्यसत्ताको विरोधमा सक्रिय हुन थाल्नुभयो । जेठो छोरा मनोज कुमार भण्डारी र माहिलो छोरो मदन भण्डारी भारतमा अध्ययन गर्न थालेपछि उहाँको बुबा तराई, मोरङ, दुलारी र पछि इटहरामा बसाइँ सर्नुभयो । भण्डारी परिवार तराई झरेपछि पनि आर्थिक स्थितिमा खासै परिवर्तन भएन ।



वृन्दावनमा सँगै बसेका दाजुभाईमा प्रजातन्त्र दिवस मनाउने सवालमा मतभेद भयो । दाजुको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस कमिटिका विरुद्ध छुट्टै कमिटि बनाएर नयाँ ढंगले प्रजातन्त्र दिवस मनाउनुभयो यसबाट के बुझिन्छ भने उनमा प्रगतिशिल विचारले निकै छोइसकेको थियो र विचारमा सम्झौता गर्न हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्नु भएको थियो। त्यसपछि उहाँले माक्र्सवादी राजनीतिक पुस्तकहरु अझ बढी साहित्यिक पुस्तकहरु अध्ययन गर्न थाल्नुभयो र छात्रप्रभा भन्ने पत्रिकामा आफना लेखहरु प्रकाशन गर्न थाल्नुभयो ।
नेपालमा राजनीतिक स्वतन्त्रता नभएकोले नेपालका राजनीतिक नेताहरु वनारस, पटना र कलकत्तामा केन्द्रित भएका हुन्थे र ति नेताहरुले उहाँसँग नजिकको सम्पर्क राख्ने गर्दथे । विलक्षण प्रतिभाका धनी मदन भण्डारी २०२९ सालमा क्रान्तिकारी बुद्धिजीवि सम्मेलनमा सहभागी हुनुभयो र जनवादी प्रगतिशिल कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनेको कमिटिको सदस्यमा उहाँपनि छानिनुभयो । जुन कमिटिको महासचिव मोदनाथ प्रश्रित र सदस्यहरुमा जीवराज आश्रित, रामचन्द्र भट्टराई र दिल साहनी हुनुहुन्थ्यो । त्यस संघले मुक्ति मोर्चा नामक मुखपत्र प्रकाशन ग¥यो । पछि उहाँहरुले पुष्पलाल समूहसँग सैद्धान्तिक वैचारिक मतभेद हुँदा यही मुक्तिमोर्चा नामको समूह गठन गर्नुभएको थिो । पछि यो समूह कोके सँग पार्टीएकता ग¥यो त्यसपछि मुक्तिमोर्चा नेकपा मालेको राजनैतिक पत्रिका बन्यो ।
माक्र्सवादी राजनीतिप्रति चासो राख्दै जानुभएका मदन भण्डारीले वृद्धावनबाट पूर्व मध्यम र उत्तर मध्यममा पास गरी बनारस फर्कनुभयो र वनारसको महाविद्यालयमा आचार्यको अध्ययन गर्न थाल्नुभयो ।
हरेक विषयमा द्वन्द्वात्मक ढंगले हेर्न र बुझ्ने स्वभावका मदन भण्डारीले १० अञ्चल र ४२ जिल्लामा र प्रवासको विभिन्न ठाउँम फैलिएको पुष्पलाल समूहले आयोजना गरिएको चौथो सम्मेलनमा केही असहमतिहरु राख्नुभयो । २०२९ सालमा २० वर्षको उमेरमा पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका मदन भण्डारीले २०२८ सालदेखि नै शोभियत संघ र नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणहरुमा फरक विचारहरु राख्न थाल्नुभएको थियो । संस्थापक नेता पुष्पलाल नेपाली कांग्रेसँसँग केही नजिक हुनुभएको आरोपहरु लाग्ने गर्दथ्यो ।
क. पुष्पलालसँग लुम्बिनीको किसान आन्दोलन, हर्रेबर्रे संघर्ष, वाम एकता, नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण, संघर्षका रुपहरु निक्र्योल गर्ने सवालमा विवाद बढ्दै गयो । अन्तत ः २०३३ साल असार १५ गते रुपन्देहीमा भएको एक भेलाले पुष्पलाल समूहबाट अलग हुने घोषण ा ग¥यो । यसको नेतृत्व कमरेड जीवराज आश्रितले गर्नुभएको थियो । यो समुहले २०३४ सालमा भाद्र १४ गते को के सँग एकीकृत भयो । त्यसपछि उहाँ को के मा सक्रिय हुन थाल्नुभयो मोरङ जिल्ला कमिटिमा रहेर काम गर्नुभयो ।
सामन्तवादलाई समुल नष्ट गर्ने एउटा कम्युनिष्ट पार्टीको सर्वत्र आवश्यकता थियो, त्यसबेलाका कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी दलदलमा भासिएका थिए । यही कुरालाई हृदयगंम गरेर २०३५ साल पौष १५ गते मोरङको इटहरामा को के ले प्रथम राष्ट्रिय सम्मेलन ग¥यो र त्यस सम्मेलनले नेकपा माले गठन ग¥यो र मदन भण्डारी त्यसको संस्थापक केन्द्रीय सदस्य हुनुभयो। नेकपा मालेको भौगोलिक विभाजन आफ्नै खालको थियो र उहाँलाई पूर्व दक्षिण क्षेत्रीय कमिटि (झापा, मोरङ, सुनसरी र धनकुटा) र उत्तर क्षेत्रीय कमिटि (भोजपुर, खोटाङ, सोलु र ओखलढुंगा) को जिम्मेवारी सुम्पियो ।
पार्टीभित्र उग्रवामपन्थी चिन्तनहरु सच्याउँदा सच्याउँदै पनि बाँकी रहेका थिए । पार्टीभित्र नयाँ सोच र व्याख्याहरु अगाडि सार्नुपर्ने आवश्यकता ठानी पार्टीको सातौं केन्द्रीय कमिटिको बैठकमा उहाँले नयाँ विचारहरु अगाडि सार्नुभयो र यसै बैठकबाट सशस्त्र संघर्षबाट प्रतिक्रियवादी शासकलाई पल्टाउन सकिन्न भनी सशस्त्र संघर्षको कार्यनीति स्थगित ग¥यो र एक एरिया एक युनिट एक स्क्वायड एक एकसनको कार्यपद्धतिलाई हटायो । पार्टीको विभिन्न वर्ग पेशा तह र तप्काको जनसमुदायमा पार्टी विस्तार र विकासको नीति लियो । तर यस बैठकमा मदन भण्डारीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम भने अलपत्रमा प¥यो । त्यसबेला पार्टीमा क्रातिको कार्यक्रम, प्रधान अन्तरविरोध र नाराहरुको सवालमा र शान्ति क्षेत्र प्रस्तावका सम्बन्धमा पनि गम्भिर मतभेदहरु थिए । शान्ति क्षेत्रका प्रस्तावका सवालमा भने २०३९ जेठमा भएको तेह्रौ बैठक र भण्डाफोर गर्ने निर्णयमा पुग्यो । यसैगरी २०३९ कार्तिकमा यसको १४ औं बैठक र २०४० मा भएको १६ औं बैठकमा सम्पूर्ण विवादहरु छिनोफानो गर्ने निर्णयमा पुग्यो जसमा मदन भण्डारीको निर्णायक भूमिका रह्यो । उहाँ योग्य र क्षमतावान नेताको रुपमा देखा पर्नुभयो । यसै कारण २०४१ सालमा भएको केन्द्रीय कमिटिको बैठकले उहाँलाई पोलिटव्युरोमा लग्यो र पार्टीले भावी महासचिवको रुपमा आँकलन ग¥यो । अन्तत ०४६ साल भाद्रमा सिराहामा भएको चौथो महाधिवेशनले उहाँलाई केन्द्रीय कमिटिको महासचिव बनाइछाड्यो ।
नविन चिन्तक तथा विचारक मदन भण्डारी राष्ट्र र अन्तराष्ट्रमा कम्युनिष्टले खाएको धक्कालाई चिर्नुपर्ने र परम्परागत शास्त्रीय ढंगबाट कम्युनिष्ट पार्टीलाई मुक्त गरी प्रतिस्पर्धात्मक योग्य प्रमाणित नगरी कम्युनिष्ट पार्टी चल्न नसक्ने निष्कर्ष निकालि जनताको बहुदलीय जनवादको विचार प्रतिपादन गर्ने कामको अगुवाई गर्नुभयो र अत्याधिक मतबाट आफ्नो विचार पाँचौ महाधिवेशनबाट पास गराई छाड्नुभयो ।
जनताको अत्याधिक विश्वासिलो भरोसायोग्य नेता जसले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई जनआन्दोलन पछिको प्रथम निर्वाचनमा हराई छाड्नुभयो । जसका कारण उहाँ राष्ट्रभित्रमात्र होइन विश्वमा नै चर्चित हुनुभयो । त्यसबेला अमेरिकाबाट प्रकाशित हुने ‘न्युज विक’ पत्रिकाले त मदन भण्डारीको अन्तरवार्ता छाप्दै कार्ल माक्र्स लिभ्स इन नेपाल भनेर छाप्यो ।
संकेतलाई बुझेर नीति निर्माण गर्न सक्ने माक्र्सवादी चिन्तक प्रखरवक्ता मदन भण्डारीलाई कास्की जिल्लाको अधिवेशन उद्घाटन गरेर चितवनको चैनपुरमा आयोजना गरिएको राष्ट्रिय महिला कार्यकर्ता भेलामा सम्बोधन गर्न जाँदा २०५० साल जेठ ३ गते दासढुंगामा षड्यन्त्रपूर्ण ढंगले हत्या गरियो । उहाँँसँगै कुशल संगठक जीवराज आश्रितको पनि हत्या भयो । देशभक्त सपुत मदन भण्डारी राजनीतिको शुरुवात सँगै क. जीवराज आश्रितसँगसँगै रहनुभयो । आफ्नो जीवनको इहलीला पनि सँगसँगै समाप्त भयो ।
आज उहाँकै हत्यारा पत्ता लाग्न सकेको छैन । एउटा मात्र जिउँदो सवुद प्रमाण अमर लामालाई दिउँसै अपहरण गरी लगेर किर्तिपुरतिर गोली हानेर हत्या गरियो तर पनि त्यसरी दिउँसै अमर लामालाई मार्ने हत्याराहरु को हुन् ? थाहा छैन ।
कमरेड मदन भण्डारी हामीबीच नरहनुभए पनि उहाँको विचार छ । त्यही विचारले कम्युनिष्ट पार्टी एमालेलाई वैचारिक नेतृत्व प्रदान गरिरहेको छ र राष्ट्रको प्रमुख शक्तिमा देखा परिरहेको छ । आज उहाँका विचारहरु फ्रान्स पेरिस कम्युनिष्टहरुले मात्र होइन लेटिन अमेरिकी देशमा कम्युनिष्टहरुले गम्भिरतापूर्वक अध्ययन गरिरहेका छन् ।
केवल ४२ वर्षको उमेरमा नै बित्नु भएका मदन भण्डारीको यदि पार्टी र जनताले उहाँको जीवन रक्षा गर्न सकेको भए आज देशले ठूलो राजनेता पाउने थियो । देश यस्तो अस्थिरता र अन्यौलको दलदलमा फस्ने थिएन । राष्ट्र र लोकतन्त्र विरोधी तत्वहरुले राष्ट्रलाई यो ढंगले रजाई गर्ने थिएन। तर उहाँको दुःखद निधन अल्पायु उमेरमा नै भयो ।
जननेता कमरेड मदन भण्डारी हाम्रो बीच नरहनु भए पनि हाम्रो देशका जनताले उहाँलाई युगयुगसम्म सम्झिरहनेछन् । उहाँ सदा अमर रहनुहुनेछ ।
लेखक नेकपा –एकिकृत समाजवादीको पोलिटव्युरो सदस्य एवं गण्डकी सचिव हुनुहुन्छ ।