दमौली, जेठ ३२
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सन्चालन गरेको आवुँखैरेनी अस्पतालमा शुक्रबारबाट स्वास्थ्य विमा लागु हुने भएको छ । अस्पतालले असार १ गते शुक्रबारदेखि स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने भएको छ । साथै शुक्रबारबाट नै अस्पतालको आफ्नै फार्मेसी पनि सञ्चालनमा आउने भएको छ ।



आवुँखैरेनी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नको लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र आँबुखैरेनी अस्पताल बिच बुधबार हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष शुक्र चमानले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले अस्पताल बिमा कार्यक्रम लागु गर्नको लागि अस्पतालको ३ जना कर्मचारीलाई तालिमको लागि पठाईसकिएको छ ।

अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई सहज र सरल रुपमा सेवा दिने उद्धेश्य सहित स्वास्थ्य बीमा सञ्चालन गर्न लागिएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘नागरिकहरुलाई स्वास्थ्य सेवा सहज, सर्भसुलभ हिसावले उपलव्ध गराउनुपर्ने हाम्रो दायित्व हो ।’
यस्तै अस्पतालमा सञ्चालनमा ल्याउन लागेको आफ्नै फार्मेसी औषधि खरिद गर्दा दश प्रतिशत छुट दिने व्यवस्था पनि मिलाइएको उनले बताए ।
के हो स्वास्थ्य विमा कार्यक्रम ?
सरकारले सन्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाखसम्मको उपचार सुविधा पाईने व्यवस्था छ । स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रूपैयाँ शुल्क लिन्छ । त्यो वापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रूपैयाँको सेवा उपलब्ध गराउँछ ।
७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रूपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त १ लाखभन्दा बाहेक २० हजार रूपैयाँ बराबरको सुविधा पाउँछन् । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्नका लागि भनेर हरेक वडामा दर्ता सहयोगी राख्ने गर्दछ । बोर्डले वडा अध्यक्षको संयोजकत्वमा दर्ता सहयोगी छान्ने गर्छ । बोर्डले छनौट गरेका दर्ता सहयोगी घर घरमा नै परिचालन हुन्छन् । ती दर्ता सहयोगीले हरेक नेपालीको घर–घरमा गएर तथ्यांक संकलन गर्ने काम गर्छन् ।
बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरूले घर–घरमा पुगेर ती व्यक्तिहरूलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् । दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरूलाई कार्ड प्रदान गर्ने गर्दछन् ।
के के पाइन्छ सुविधा ?
पाँच जनाको एउटा परिवारले ३५ सय रूपैयाँमा १ लाखसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७ सय रूपैयाँमा २० हजारको उपचार सुविधा थप हुन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन । उपचार सुविधाका लागि बोर्डले स्वास्थ्यचौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ । बीमितले उपचारका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्यचौकी वा अस्पताल जानुपर्नेछ ।
बीमा गरेको कति समयपछि पाइन्छ सेवा ?
स्वास्थ्य बीमामा अवद्ध भएपछ सेवा लिनमा लागि भने समय कुनु पर्ने हुन्छ । अर्थात वैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि सेवा लिन सकिने व्यवस्था छ ।
साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लागू हुने बोर्डको भनाइ छ । यस्तै, बोर्डका अनुसार कात्तिकदेखि पुस महिनासम्म दर्ता वा नवीकरण भएमा सोही वर्षको फागुन एक गतेदेखि र माघदेखि चैत महिनासम्म दर्ता वा नविरकण भएमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लागू हुने व्यवस्था छ ।
बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा विस्तार भएको छ । यो कार्यक्रम २०७२ साल चैतदेखि पाइलट प्रोजेक्टका रूपमा शुरू भएको थियो ।












