दमौली, असार ६
इन्सेकले आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरेको छ ।
बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउँदै इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा संरक्षण र सम्बद्र्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरेका हुन् । इन्सेकले नीति तथा कार्यक्रम मानवअधिकार मैत्री बनाउन समेत माग गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको आगामी वर्षको कार्यक्रममा मानवअधिकारको विषयलाई सम्बोधन गरिने प्रतिबद्धता जनाए । शर्माले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानवअधिकार संरक्षण र सम्बद्र्धनको कार्यक्रम सन्चालन गर्न बजेट विनियोजन गर्न आफुले पहल गर्ने बताए ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकोलागि मानवअधिकार सम्बन्धी तालिम तथा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरु गरिने गरि नीति बनाईने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।