आदिकविको ससुराली गाउँमा उनको जन्मजयन्ती मनाईने

Devghat Online

शेयर गरौ

दमौली, असार २४

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ म्याग्दे गाउँपालिका–१ मानुङकोटमा उनको २१० औं जन्म जयन्ती मनाईने भएको छ । भानु जयन्तीको अवसरमा आगामी असार २९ गते शुक्रवार उनको ससुराली गाउँ मानुङमा साहित्यिक कार्यक्रम गरि मनाईने भएको हो ।

ऋादिकावि भानुभक्त आचार्यकी धर्मपत्नी चन्द्रकला खनाल आचार्यको नामबाट स्थापित ‘आदिकवि भानुभक्त आचार्य÷चन्द्रकला खनाल आचार्य स्मृति प्रतिष्ठान’ले भानुभक्तसँगै उनकी श्रीमतीको पनि स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्ने भएको हो ।

मानुङकोट स्थित विजय आधारभूत विद्यालयमा असार २९ गते साहित्यिक कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका सचिव रामहरि खनालले जानकारी दिए । सो अवसरमा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनी बारे कार्य पत्र प्रस्तुत गरिने छ ।

आदिकविको योगदानको महिमा चर्चा गर्दै गर्दा उनकी धर्मपत्नीको योगदानलाई पनि उपेक्षा गर्न नहुने भन्दै उनको सम्मानमा कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता एवम् साहित्यकार देब बस्न्यातले बताए । आजसम्म भानुको मात्र स्मरण गर्दै आएका भन्दै उनले अव भानुसँगै उहाँकी श्रीमतीको पनि स्मरण गर्न आवश्यक छ भन्ने महसुस गरि हामीले नयाँ अभियान थालनी गरेको बताए ।

साथै मानुङको पर्यटकीय सम्भावनालाई उजागर गरि साहित्य र पर्यटनसँगै विकास गर्ने उद्देश्यले पनि अभियान थालिएको उनले ब ताए । मानुङकोट, दमौलीलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यो अभियान कोसेढुंगा सावित हुने समेत बस्न्यातले विश्वास व्यक्त गरे ।

सो अवसरमा व्यासका अध्येता काशीनाथ न्यौपानेले आदिकविको नाम मानुङकोटसँग जोडिनु गर्वको विषय भएको बताए । साथै उनको धर्मपत्नीको नाउँमा साहित्यिक समारोह आयोजना गर्दा ओझेलमा रहेको उनको भूमिकाबारे धेरै जनालाई जानकारी लिने अवसर मिल्ने न्यौपानेले बताए ।

कार्यक्रममा व्यास क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले उनकी पत्नीको योगदानको पनि उत्तिकै महिमा हुनुपर्ने बताए । हरेक मानिसको सफलतामा उनका परिवार र जीवन साथीको भूमिका पनि रहन्छ भन्ने पनि स्मरण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिष्ठानले निकट भविष्यमा मानुङमा आदिकवि र उनका दुबै श्रीमतीको प्रतिमा स्थापना गर्ने लक्ष्य राखेको छ । मानुङ आउने पर्यटकहरुलाई नेपाली भाषिक एकीकरणमा उनले पु¥याएको योगदान र मानुङसँगको उनको सम्बन्ध बारे जानकारी हुने गरि प्रतिमा स्थापना गरिने प्रतिष्ठानका कोषाध्यक्ष बिनोद खनालले बताए । भानुभक्तकी पहिली श्रीमतीको १८ महिनामै मृत्यु भएपछि उनले चन्द्रकलासँग विवाह गरेका थिए ।

चन्द्रकलाको स्मृतिमा २०७० सालमा चुडामणि खनालको नेतृत्वमा यो संस्थाको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू