दमौली, असार २८
व्यास नगरपालिकाले हालसम्म ८ सय २२ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले दिएको तथ्याङक अनुसार क वर्गकालाई रातो, ख वर्गकालाई निलो, ग वर्गकालाई पहेलों कार्ड र घ वर्गको अपांगता भएकाव्यक्तिलाई सेतो परिचयपत्र प्रदान गरिएको छ ।
जसमा रातो कार्ड १ सय ३५ जनालाई, निलो कार्ड ३ सय ३६ जनालाई, पहेंलो कार्ड २ सय ३५ जनालाई र सेतो कार्ड १ सय १६ जनालाई वितरण गरिएको छ । सरकारबाट प्राप्त रकम नगरपालिकाले ‘क’ र ‘ख’ वर्गलाई मासिक क्रमशः रु चार हजार र ‘ख’ वर्गलाई रु दुई हजारका दरले उपलब्ध गराउँदै आएको छ ।
सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको भएपनि ‘ग’ वर्गलाई भने सुविधा प्रदान गरेको छैन । संघिय सरकारले रातो कार्ड भएका व्यक्तिलाई मासिक ४ हजार र निलो कार्ड भएकालाई २ हजार १ सय २८ रुपैया भत्ता प्रदान गर्दै आएको छ ।
नगरपालिकाको तर्फबाट प्रोत्साहन स्वरूप पहेंलो कार्ड भएका व्यक्तिलाई वार्षिक ४ हजार भत्ता दिदै आएको उपप्रमुख इन्द्रिरा दरैले जानकारी दिईन् । उनले भनिन्, ‘सरकारले रातो र नीलो कार्ड प्राप्तव्यक्तिलाई मात्रप्रोत्साहन रकमदिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गरेको छ ।’ उनले भनिन्, ‘सामाजिक सुरक्षाभत्ता र पेन्सन पाउनेहरुलाई भने प्रोत्साहन रकम दिईने गरिएको छैन ।’
सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता बितरण नगरिएको हो तर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।