काठमाडौं, असार ३१
नेपाली सेनाको संख्या घटाउने बारे दिएको अभिव्यक्ति प्रति चौतर्फी आलोचना हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो भनाईको बचाउमा उत्रिएका छन् । वाग्लेले आईतबार सामाजिक सन्जालमा लामो स्टाटस राख्दै नेपाली सेनालाई विवादमा तान्न खोज्नेहरुबाट सावधान रहनु पर्ने बताएका छन् ।



सांसद वाग्लेले सामाजिक सन्जालमा लेखेका छन् ‘नेपाली सेनाको गौरवशाली इतिहास छ । यो संस्थाको शान झन् बढाउँदै लानुपर्छ । जिम्मेवार सांसदका रुपमा बोल्नुअघि मैले प्रधान सेनापतिज्युसँग नै भेटेर छलफल गरें । अहिलेको आकारबाट धेरै काम गर्नुपर्दा सैनिक संस्था चापमै रहेको बुझें र उहाँको यो कुरा मैले संसदमै राखें । अबको बाटो भनेको एकीकृत सुधारको योजना तीनवटै सुरक्षा निकाय आँफैले पेश गरुन् र त्यो प्रक्रियामा राजनीतिक सहमति होस् । जे गरिन्छ, सुरक्षा निकायकै सम्मतिमा गर्नुपर्छः आवश्यक भए संख्या बढाउने, आधुनिकीकरण मार्फत कुल संख्या घटाउने, वा यथावत राख्ने । बोझिलो बन्दै गएको संघीयता र कर्मचारी संयन्त्रमा पनि सुधार गर्नुपर्छ । वित्त र सुरक्षा नीति दुबैमा संवेदनशील भएको एउटा राष्ट्रिय दलले गर्ने यही हो ।’

‘हामी चौबाटोमा प्रोपगाण्डा गर्दै हिंड्नेहरुको हल्लाका पछाडि दौडने होइन, बहालवाला सर्वोच्च अथोरिटी (प्रधान सेनापति) ज्यूसँगै छलफल गरेर जिम्मेवार कुरा गर्छौं । भ्रम फिजाउँदै राष्ट्रिय सेनालाई विवादमा तान्नेहरुको खराब नियतबाट सावधान रहनुहोला ।’
वाग्लेले केहि दिन अघि नेपाली सेनाको संख्या घटाउनु पर्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्ति पछि नेपाली सेनाका पुर्व जर्नेलहरु, पुर्व मन्त्रीहरु तथा विभिन्न राजीतिक दलका नेताले अहिलेको अवस्थामा नेपाली सेनाको संख्या घटाउनु खोग्नु भनेको नेपालको सार्वभौमिकतालाई कमजोर बनाउने र नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्नु भएको बताएका थिए ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पुर्व रक्षामन्त्री इश्वर पोख्रेलले नेपाल राष्ट्रलाई कमजोर बनाउने रणनीतिक र अपराधिक षड्यन्त्र अन्तर्गत नेपाली सेनाको संख्या घटाउने सम्बन्धी बहस गराउन थालिएको आरोप लगाएका थिए ।












