दमौली, भदौ १७
व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको मितेरी गाउँका रुपमा ऋषिङ गापा वडा नम्बर ३ को दुबुङ छनौट भएको छ । क्याम्पस सन्चालक समितिले गठन गरेको मितेरी गाउँ छनौट उपसमितिले दुबुङलाई मितेरी गाउँको रुपमा छनौट गरि क्याम्पस सन्चालक समितिलाई छनौट गरेको हो । भदौ १८ गते सोमबार हुने क्याम्पसको ३७ औं वार्षिकोत्सव समारोहको अवसरमा क्याम्पस र दुबुङ गाउँको वीच मितेरी गाउँसम्वन्धी सम्झौता समेत हुने भएको छ ।
क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला संस्कृति र खाद्यवस्तुहरुको संरक्षण एवं विकासगरी समुदायमा क्याम्पसको छवीलाई विश्वसनीय वनाउँदै गाउँलाई एक आकर्षक एवं सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको थियो ।
उक्त अवधारणा अनुसार जिल्लाभरिका २५ विभिन्न गाउँहरु प्रस्तावित भएका मध्ये ऋषिङ गापा–३ को दुबुङ, भानु नपा–१३ को टुटेपानी र व्यास नपा–१४ को रुम्सी स्थलगत अध्ययनका लागि छानिएका थिए । त्यसमध्ये ती गाउँहरुका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकाससम्वन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारहरुलाई मुख्य मानकका रुपमा निर्धारणगरी आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको मितेरी गाउँ छनौट उपसमितिले यही २०८० भदौ १२ गतेदेखि १६ गतेसम्म उक्त गाउँहरुको स्थलगत अध्ययन भ्रमण सम्पन्न गरेको थियो । उक्त समितिको समग्र मूल्याङ्कनको आधारमा ऋषिङको दुबुङलाई मितेरी गाउँको रुपमा छनौट गरिएको उपसमितिका संयोजक हरिसिंह गुरुङले जानकारी दिए ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान २०४९ (संशोधित २०७९) लाई आधारमानि आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँ छनौट गरेको गुरुङले बताए ।
चार दशक अघि दमौलीमा स्थापना भएको आदिकवि भानुभक्त क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, वन तथा वातावरणका साथै स्थानीय मौलिक कला संस्कृति र खाद्यवस्तुहरुको संरक्षण एवं विकासगरी स्थानीय समुदायको सुख, शान्ति र समृद्धिमा हातेमालो गर्दै गाउँलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँको अवधारणा अघि सारेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । गाउँको वर्तमान सामाजिक विकासका पूर्वाधारहरु, स्थानीय निकायको संलग्नता, पर्यटन विकाससम्वन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनाको आधारमा मितेरी गाउँ छनौट गरिएको हड्खलेले बताए ।
मितेरी गाउँ छनौट भएको गाउँमा दीगो पर्यटन विकास तथा संस्कृति संरक्षण सम्वन्धी काम गरिनेछन् । उक्त गाउँमा जीवन्त पुख्र्यौली पेशा र सीपको संरक्षण साथै अतिथि सत्कार तथा खाना वनाउने, पर्यटन व्यवसाय सञ्चालन, उद्धार तथा पथ–प्रदर्शनका सीप, जलविहार गाइड, फोहोर व्यवस्थापन, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैंगिक सचेतना, एचआईभी एड्स, गोबरग्याँस तथा सौर्य ऊर्जाजस्ता वैकल्पिक ऊर्जा, महिलाहरूका आधारभूत स्वास्थ्य समस्या समाधानको क्षेत्रमा सहकार्य गरिने क्याम्पस प्रमुख हड्खलेले बताए ।
त्यस्तै पदयात्रा र पर्या–पर्यटन, होमस्टे तथा साधारण लज व्यवस्थापन, स्थानीय परिकारहरूको उपयोग तथा प्रवद्र्धन, वातावरणीय सचेतना, साधारण अंग्रेजी बोलचाल, नेतृत्व विकास, मातृ भाषा र प्राथमिक उपचार, सूचना तथा सञ्चार आदि सम्वन्धी अन्तरक्रिया, तालिम, गोष्ठी, शिविर तथा प्रदर्शनीहरुका लागि क्याम्पसले स्थानीय सरकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग समन्वय र सहकार्य हुनेछ ।
त्यसैगरी मितेरी गाउँको विषयगत प्रोफाईल निर्माण, पर्यटन सेवाहरुको विविधीकरण, सम्पदाहरुको संरक्षण, पर्यटकीय पूर्वाधारहरुको विकास र सौन्दर्यीकरण, सुरक्षा प्रबन्ध र कुनै पनि ठाउँमा स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरणको प्रत्याभूति, बाह्रै महिना गन्तव्यसम्म पुग्ने सहज व्यवस्था, व्यवस्थित पदमार्गहरु, आफूले छनोट गरेको र तिरेको रकमअनुसारको आवास तथा यातायातको गुणस्तर, आतिथ्यता र सेवाको स्तर, पर्यटकसँग हुने कुराकानीका साथै पर्यटन व्यवसाय खोल्न र सञ्चालन गर्नका लागि सहज प्रक्रिया र आवश्यक सहयोग प्रदान गर्ने उपयुक्त संयन्त्र एवं पद्धतिको विकास गर्नका लागि सम्वन्धित पक्ष समक्ष पैरवीका साथै आवश्यकीय प्राविधिक सहयोग गरिने छ ।