अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनको उपलब्धी जिल्ला सभाहल अपाङ्गतामैत्री बन्दै

Devghat Online

शेयर गरौ

उद्घाटन कार्यक्रम पनि पछि सर्यो

दमौली, भदौ २१

तनहुँको सदरमुकाम दमौलीमा निर्माणाधिन जिल्ला सभागृहले पछिल्लो समय धेरै दमौलीबासीको ध्यानआकृष्ट गर्यो । संघीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण डिभिजन कार्यालयले निर्माण गरेको उक्त भवन निर्माणको अन्तिम चरणमा पुगेपछि अपाङ्गतामैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले आपत्ती जनाए ।

उनीहरुले गत साउन ७ गते भवनको पहुँचयुक्तताको निरिक्षण गरेपछि सो भवन पुर्ण अपाङ्गतामैत्री नभएको निश्कर्ष निकाल्दै भवनलाई मापदण्ड अनुसारको अपाङ्गतामैत्री बनाउनको लागि साउन १० गते जिल्ला समन्वय समितिका प्रमुख लगायतका सबै सरोकारवालाहरुलाई ध्यानाकर्षणपत्र बुझाए ।

ह्दयी मन्च नेपालको समन्वय र पहलमा भएको उक्त अनुगमन र ज्ञापनपत्र बुझाउने कार्यक्रमपछि भवनलाई पुर्ण अपाङ्गतामैत्री बनाउन दवाव दिने उद्देश्यले अपाङ्गता अधिकारकर्मी मदन पौडेलको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरुको जिल्ला स्तरीय संघर्ष समिति निर्माण गरे । त्यसपश्चात सबै आन्दोलन र दवावमुलक कार्यक्रमको नेतृत्व सोही संघर्ष समितिको नेतृत्वमा भयो ।

संघर्ष समितिले भदौ १ गतेबाट आन्दोलनको कार्यक्रम घोषणा गर्यो । उनीहरुले भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा पत्रकार सम्मेलन गरि आफ्ना आधिकारिक धारणा सार्वजानिक गरे र पुर्ण अपाङ्गतामैत्री भवन नबनाउँदासम्म भवनको उद्घाटन हुन नदिने घोषणा समेत गरे । संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत उक्त भवनको मुख्य गेट र जिल्ला समन्वय समितिमा समेत तालाबन्दी गरे ।

यता विपी जयन्तीको अवसर पारेर भदौ २४ गते उक्त भवनको उद्घाटन राष्ट्रपती रामचन्द्र पौडेलबाट गराउने गरि जिल्ला समन्वय समिति लागेको थियो । तर अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलन र उक्त आन्दोलनमा राष्ट्रिय अपाङ्ग महासंघ तथा अन्य सरोकारवालाहरुले समेत ऐक्यबद्धता जनाएपछि भने जिल्ला प्रशासन र जिल्ला समन्वय समिति समस्यामा पर्यो । जसरीपनि तोकिएकै मितिमा भवन उद्घाटन कार्यक्रम सफल बनाउनु पर्ने दवावमा परेको प्रशासनले केही अपाङ्गता भएका व्यक्तिहरुलाई बोलाएर आन्दोलन तुहाउने गरि वार्ता र छलफल समेत गरेको थियो । तर उक्त वार्ताले पनि आन्दोलन रोकिएन ।

जिल्ला सभाहललाई अपाङ्गतामैत्री बनाउने अभियानमा एक दिन पनि मैदानमा नदेखिएका आफुलाई अपाङ्गता अधिकारकर्मी बनाउने केही व्यक्तिहरुलाई प्रयोग गरेर आन्दोलन तुहाउने र भवनको उद्घाटन पछि मात्रै अपाङ्गतामैत्री संरचना बनाउने प्रशासनको योजना पनि काम लागेन । राष्ट्रिय अपाङ्ग महासंघले यो विषयलाई राष्ट्रियकरण गरेपछि भने भवन निर्माण डिभिजन विभागले भवनलाई पुर्ण अपाङ्गतामैत्री बनाउने प्रतिबद्धता जनाई तत्काल काम पनि सुरु गर्यो ।

दमौलीमा बसेर अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गराई जिल्ला सभागृह भवनलाई पुर्ण मावनमैत्री बनाउने आन्दोलनको नेतृत्व गरेका अपाङ्गता अधिकारकर्मी मदन पौडेल अहिले भने उक्त भवन बाहिरबाट हेर्दा अपाङ्गतामैत्री जस्तो देखिएको बताए । भवनको मुख्य द्वारबाट हलसम्म जान दृष्टि विहिनहरुको लागि टेक्सटायल राखिएको छ । त्यस्तै भवनको अगाडी बनाईएका पार्किङहरुलाई भत्काएर ह्विल चियर जान सक्ने गरि निर्माण गरिएको छ । पौडेलका अनुसार पुर्व तर्फको तल्लो हलमा जाने र्याम्पको चौडाई बढाईएको छ भने सौचालय पनि मर्मत गरिएको छ । ह्विल चियर लिएर सौचालय जान सक्ने बनाईएको छ ।

त्यस्तै स्टेज पछाडीको सौचालय जाने बाटोमा पनि र्याम्प बनाईएको छ भने हल भित्रका कुर्सीहरुको लागि पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि स्थान छुट्याईएको छ । कुल सिटको पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुकोलागि छुट्याउनु पर्ने प्रवधान अनुसार सिट छुट्याउन पहल गरिरहेको पौडेलले बताए । त्यसबोहक भवन भित्रका केही संरचनाहरु अझै पनि सुधार गर्नु पर्ने भन्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको पनि माथिको बाल्कोनी र हलमा पहुँच हुनु पर्ने भन्दै उनले माथिल्लो हल र बाल्कोनीमा जान लिफ्ट राख्नु पर्ने र उक्त काम पनि चाँडै नै सुरु हुने अपेक्षा गरे । ‘हामीले माग गरे जस्तै पुर्ण मानवमैत्री बन्छ भन्ने आशा गरिएको छ’ पौडेलले भने ‘पुर्ण मानवमैत्री बनाएपछि मात्रै उद्घाटन होला भन्ने हाम्रो आशा छ ।’

आफुहरुको सरोकार भवन कसले उद्घाटन गर्छ भन्ने तर्फ नभई भवन कानुन अनुसार अपाङ्गतामैत्री छ वा छैन भन्ने मात्र रहेको पौडेलले बताए । जिल्ला सभाहलको संरचना परिर्वतन गरेर भएपनि अपाङ्गतामैत्री बनाउनु आन्दोलनको जित भएको भन्दै पौडेलले अव जिल्लामा बन्ने सार्वजानिक संरचना सुरुको डिजाईनबाट नै पुर्ण अपाङ्गतामैत्री बनाउन यसले दवाव पुग्ने बताए ।

यसैविच जिल्ला सभाहलको उद्घाटन कार्यक्रम तत्कालकोलागि स्थगित भएको छ । आगामी भदौ २४ गते आईतबार विपि जयन्तीको अवसरमा उक्त भवन राष्ट्रपती रामचन्द्र पौडेलबाट उद्घाटन गराउने कार्यक्रम तय गरिएकोमा भवनको केही संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने भएको र यसको काम नसकिएको हुँदा तत्कालकोलागि उद्घाटनको कार्यक्रम पछि सारिएको बुझिएको छ । भदौ २४ गते स्थगित गरिएको उद्घाटन कार्यक्रम असोज ६ गतेको लागि सारिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू