सयपत्री फूलको प्रबद्र्धन गर्दै तनहुँका स्थानीय तह
दमौली, कार्तिक १८
नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिईरहेको छ । तिहारमा अत्याधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाईटिकामा दिदि बहिनिले दाजु भाईलाई सयपत्री र मखमलीको माला लगाईदिने प्रचलन छ । त्यस्तै तिहारको अवसरमा मनाईने गाई, गोरु र कुकुर तिहारको अवसरमा पनि ति पशुहरुलाई सयपत्री फूलको माला लगाएर पुजा गरिन्छ । यसैकारण तिहारमा सयपत्री र मखमली फूलको अत्याधिक प्रयोग गरिन्छ ।
विगतका वर्षमा भारतीय सयपत्रीको मालाले नेपाली बजार ढाकेको हुन्थ्यो, तर यसवर्ष सरकारले भारतीय माला भित्र्याउन प्रतिबन्ध लगाएपछि नेपाली फुलले बजार पाउने भएको छ । यसैकारण गाउँ गाउँमा युवाहरुले अहिले सयपत्री फुलको खेती गरेका छन् ।
तनहुँका विभिन्न स्थानीय तहमा पनि युवाहरुले सामुहिक रुपमा वा एकल रुपमा सयपत्रीको खेती गरेका छन् । युवाहरुले गरेको सयपत्री फूलको खेतीलाई स्थानीय तहले प्रबद्र्धन सुरु गरेको छ । तनहुँका आवुँखैरेनी, बन्दिपुर तथा म्याग्दे गाउँपालिकाले आफ्नो पालिका भित्र उत्पादित सयपत्री फूलको प्रबद्र्धन गरेका छन् ।
आबुँखैरेनी गाउँपालिका–१ को मित्रता माविका विद्यार्थीहरुले जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गरेका छन् । सो विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुले कृषि विज्ञान शिक्षा अन्तर्गत सामुहिक रुपमा सयपत्री फूलको खेती गरेका हुन् ।
आबुखैरेनी गाउँपालिकाको सहयोगमा मित्रता माविमा अध्ययनरत विद्यार्थीहरुले करिब १० रोपनीमा सयपत्री खेती गरेका थिए । उक्त स्थानमा अहिले करिब ३० हजार सयपत्री फूलफुलेको अवस्था रहेको छ ।
आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलले शुक्रबार उक्त सयपत्री फूलबारीको अवलोकन गरि सबै गाउँपालिकाबासीलाई स्थानीय स्तरमा उत्पादित फूलको मात्रै प्रयोग गर्न अनुरोध गरे । आँबुखैरेनी गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत कार्यान्वयनमा रहेको पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थी भाई बहिनिहरुको मेहेनतको फल बजारमा आएको भन्दै अध्यक्ष चुमानले प्रति माला ७० रुपैयामा खरिद गरेर सहयोग गर्न सबै गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् । सयपत्री फूलबारीमा विद्यार्थीहरुले शुक्रबार सयपत्री समय र साहित्य नामको कार्यक्रम समेत आयोजना गरेका थिए ।
यसैगरि बन्दिपुर गाउँपालिका–५ को थुम्कामा ५० रोपनी क्षेत्रफलमा स्थानीय रामप्रसाद भट्ट, नेत्रप्रसाद लामीछाने, नारायण लामीछाने लगायत ६० जनाले सामुहिक रुपमा सयपत्री फूलको व्यवसायीक खेती गरेका गरेका छन् । फूल फुल्न थालेपछि एक बिरुवाबाट करिव २ वटा माला तयार हुने पुष्प ब्यबसायी भट्टकोे भनाई छ । एक बिरुवाबाट न्यूनतम ५० रुपियाँ आम्दानी गर्न सकिने उनको प्रारम्भिक अनुमान छ । प्रति मुठा न्युनतम ५० देखी प्रति माला न्युनतम २०० रुपियाँको दरले बिक्री गर्न सकिने छ ।
उनले गत वर्ष फूल उत्पादन गरेर आफैले मात्र डेढ लाख आम्दानी गरेका थिए । यस बर्ष पनि त्यही अनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ । बिरुवा रोपेको ४ महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । स्थानिय बजारमा मात्र नभइ आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउन गराउदै आएको उनले बताए ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले शनिबार उक्त फूलबारीको अवलोकन गर्दै आगामी दिनमा पुष्प ब्यबसायीहरुलाइ उत्पादनमा प्रोत्साहन गर्न गाउँपालीकाले बिरुवामा अनुदान दिने बताए । अध्यक्ष थापाले तिहारमा गाउँपालिकाबासीले उक्त फूल खरि गर्न र तिहार पछि हुने अन्य औपचारिक कार्यक्रममा मालाको प्रयोग गर्दा स्थानीय स्तरमा उत्पादित फूलको प्रयोग गर्न अनुरोध गरे ।
यस्तै म्याग्दे गाउँपालिका–५, स्थित ठुलोखेतमा स्थानीय सुसन पौडेलले ४ रोपनी क्षेत्रफलमा आईटी ओरेन्ज सयपत्री जातको फूल खेतीकोे उत्पादन गरेका हुन् । कृषि तथा पशुपालन फर्मका संचालक पौडेलले तिहार लक्षित पुष्प खेती गरेका हुन् । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०÷८१ को पुष्प खेती विकास कार्यक्रम अन्तरगत पौडेलले पालिकावाट ५० हजार अनुदान प्राप्त गरि गरि कुल ८० हजारको लगानीमा सयपत्री फूलको व्यवसायिक खेती गरेका हुन् ।
चाडवाडको अवसरमा वर्षेनी लाखौ रुपैया विदेशिई रहेको सन्दरभमा स्थानिय वजार र आवश्यकतालाई ध्यानमा राखेर तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताए । हेर्दा समान्य लागेता पनि तिहारमा फूल खरिदमा ठुलो रकम वाहिरिने हुदाँ त्यसको आपुर्ति स्थानिय स्तरवाट गर्न सकियो भने स्वदेशी उत्पादन सँगै रोजगारको अवसर पनि सिर्जना हुने र आर्थिक रुपमा पनि टेवा पुग्ने पौडेलले बताए ।
विगतको तिहारमा प्रति फूलको थुगाँ ६ रुपैयामा किनेको अनुभव वटुलेको पौडेलले खुद्रा विक्री गर्न सकेमा करिव ३ लाख वरावरको आम्दानी हुने अपेक्षा गरे । तिहारमा वाहिर देशवाट आउने फूल रोक्न सकिएमा फुलको व्यवसायले रोजगारीको अवसर सँगै आर्थिक उपार्जन पनि गर्न सकिने उनले बताए ।
मालाको २०० रुपैया सम्म खुद्रा वजार भाउ रहेता पनि सुपथ मुल्यमा फुलको विक्री गर्ने लक्ष्य राखेको पौडेलले बताए। आईटी आरेन्ज सयपत्री जातको फुल उत्पादन गरेको पौडेलको पुष्प खेतीले स्वदेशमा नै केही गर्न सकिने प्रेरणा मिलेको त छ नै फूलको सुगन्धले गाँउ नै हराभरा र सुगन्धित बनेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय स्तरमा उत्पादित फूलको प्रयोग गरेर कृषकलाई सहयोग गर्नु पर्ने बताए ।