दमौली, कार्तिक १९
८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्ड विस्तार कार्य अन्तर्गत डुम्रे–छिर्कन खण्डमा कालोपत्रे सुरु गरिएको छ । सो खण्डको नाहालामा आइतबार बिहानबाट कालोपत्रे सुरु गरिएको हो ।



तिहार अघि डुम्रे–छिर्कन खण्डको करिब ४ किमि सडक कालोपत्रे गरिसक्ने र तिहार लगत्तै पुन बाँकी खण्ड कालोपत्रे गरिने मुग्लिन–पोखरा सडक आयोजनाको पुर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । डुम्रे–छिर्कनमा कालोपत्रे भईसकेपछि उक्त सडकमा यात्रा केही सहज हुनेछ ।
२०७८ वैशाखदेखि सुरु भएको दुई लेन रहेको सो खण्ड हाल चार लेनमा विस्तार भइरहेको छ । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ ।
पूर्वी खण्डको म्याद आगामी २०८१ वैशाखसम्म छ । पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो । पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्ड छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्कामा दिईएको थियो । एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ ।
उक्त सडकखण्ड चार लेनमा विस्तार भइसकेपछि सडक सीमा दुईतर्फी २५÷२५ मिटर भए पनि बाक्लो घरबस्ती भएको ठाउँमा सडकको कुल चौडाइ ४१ मिटर हुने छ ।