दमौली, कार्तिक २२
तनहुँमा बुधबार अबैध लागू औषध सहित तिन भारतीय सहित पाँच जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा उनीहरु पक्राउ परेका हुन् ।
बुधबार विहान ६ बजेको समयमा जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ९६८४ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भारत मोतिहारी जिल्ला पुर्वी चम्पारण घर बताउने १८ बर्षिय क्यामुदिन अन्सारी, भारत मोतिहारी जिल्ला कटहनौनापुर ग्राम पन्चायत घर बताउने ६० बर्षिया मुस्ताफा खातुन र सोही ठाउँका १८ बर्षिया निराले आलम अबैध लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले अबैध रुपमा लुकाई ल्याएको डाईजोपाम लेखेको सिसि ७३ एम्पुल, फेनेग्रान लेखेको सिसि ७३ थान एम्पुल र नोफिन लेखेको सिसि ७३ एम्पुल गरी जम्मा २१९ एम्पुल लागु औषध फेला पारी उक्त लागु औषध सहित तिनै जनालाई नियन्त्रणमा लिई उनीहरु बिरुद्ध लागु औषध मुद्दामा बुधबार नै तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
यसैगरि बुधबार नै आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक–खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्नै क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आँउदै गरेको यात्रुबाहक बसमा सवार पर्सा जिल्ला जिराभवानी गाउँपालिका–१ घर भएका १९ बर्षिय अशोक यादव र सोही ठाउँका १९ बर्षिय राकेश यादवले लुकाई छिपाई ल्याएको निट्रेभिट लेखिएको ६०० वटा ट्यावलेट नियन्त्रित लागु औषध सहित उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।