देवघाट, पुस ४
चितवनको भरतपुर मनपा–१ को वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् ।
गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको प्रथम भाषा संस्कृतको संरक्षणमा समावेशी गुरुकुल हुन सक्ने बताइन् ।
शिलान्यास कार्यक्रममा परिषद्का प्रमुख संरक्षक योगी श्रृषनाथ, कार्यबाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, पूर्व कार्यबाहक अध्यक्ष ऋषिराज पाण्डे, देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष बद्री अधिकारी लगायतले गुरुकुलीय शिक्षाको आवश्यकताबारे आफ्नो धारणा राखेका थिए ।
भवन शिलान्यासको पूजा गुरुकुलका प्राचार्य माधव पौडेलले गरेका थिए भने गुरुकुलका बटुकहरुले मंगलाचरणसहित स्वस्ती वाचन गरे । योगी नरहरिनाथ संस्कृत गुरुकुलम प्रकल्प मार्फत् विसं २०७५ सालमा सबैका लागि संस्कृत शिक्षा भन्ने अभियान का साथ समावेशी गुरुकुल सञ्चालन गरिएको हो । यहाँ अहिले ४२ जना बटुकहरु कक्षा १० अध्ययन गरिरहेका छन् । आवासीय सुविधाका साथ अध्ययन गराइने गुरुकुलको लागि साढे छ करोड लागतको नयाँ भवन निर्माण गरिन लागिएको बताइएको छ ।
योगी नरहरिनाथले ५४ औ कोटिहोम लगाइएको स्थान श्रीयोगी नरहरिनाथाश्रमः वागीश्वरी भरतपुरमा सञ्चालित समावेसी योगी नरहरिनाथःसंस्कृत विद्यापीठम्का बटुकहरु अध्ययनका लागि भवन निर्माण गरिन लागिएको हो ।
सो भवन निर्माणकोलागि सांसद पौडलको पहलमा बागमती प्रदेश सरकारले तीस लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त भवन तीन तले हुनेछ । सो कार्यक्रमको सन्चालन आश्रमका महासचिव अशोक पोखरेलले गरेका थिए ।