देवघाट, पुस ५
चितवनको भरतपुर मनपा–१ देवघाटस्थित सीताराम संस्कृत माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनार्थ आगामी पुस २७ गतेदेखी आयोजना गर्न लागिएको श्रीमद् भागवत अखण्डपाठ पारायण कथा वाचन एवं पितृ उद्दारात्मक महायज्ञ सम्पादन एवं मकर स्नान महोत्सव–२०८० सफल पार्न विहिबार विद्यालय परिसमा बृहद छलफल, महायज्ञस्थल निरिक्षण एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
छलफलमा विद्यालयका व्यवस्थापन समिति, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी प्र अ लगायत अन्य शिक्षक कर्मचारी, पुर्व प्र अ पुर्व शिक्षक, पुर्व विद्यार्थी तथा अग्रज समाजसेवी, बुद्धिजीवी, विभिन्न मठमन्दिरका प्रमुखहरु एवं विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मकर स्नान मेला २०८० का संयोजक हरि प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बृहत छलफल गरि मकर स्नान महोत्सव सफल पार्न विभिन्न निर्णय गर्दै उपसमितिहरु समेत गठन गरिएको विद्यालयका सहायक प्रअ एवं महायज्ञ सचिवालय संयोजक अर्जुन पाण्डेयले जानकारी दिनु भयो ।
सो कार्यक्रममा महायज्ञ तथा मकर स्नानको उद्देश्यको बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दशरण सिग्देलले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सचिवालय सदस्य रत्नलाल कंडेल लगायतले पनि धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन एवं सहजीकरण विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक अर्जुन पाण्डेयले गर्नु भएको थियो ।
सो कार्यक्रममा महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमितिहरूको गठन एवं गठित उपसमितिको परिपूर्तिको बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित हुनु हुने सबैले महायज्ञ तथा मकर स्नान महोत्सवलाई सफल पार्नु पर्नेमा जोड दिनु भएको थियो ।