अन्जान परियार, बेलचौतारा पुस ५
नेपाल उत्पीडित जातिय मुक्ती समाज तनहुँले समाजको ३६ औँ स्थापना दिवसको अबसरमा जिपि कोईराला अस्पताल बेलचौताराका बिरामीलाई फलफुल बितरण गरेको छ ।
स्थापना दिवसको अवसरमा मुक्ती समाजले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित बिश्वकर्मा मन्दिर परिसरमा जातिय विभेद बिरुद्धको विशेष छलफल कार्यक्रम र त्यसपश्चात फलफुल बितरण गरेको थियो ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा शुक्लागण्डकी नगरपालिका पुर्व उपप्रमुख सबिता रसाइली, एमाले प्रदेश कमिटी सदस्य एबम मुक्ति समाजका केन्द्रिय सदस्य बाबुराम सुनार, मुक्ती समाज केन्द्रिय सदस्य सुनिता नेपाली, जिल्ला अध्यक्ष भरत लामगादे, प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी सदस्यले अस्पतालका विरामीलाई फलफुल बितरण गरेका थिए ।
सो कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य रसाइलीले कथित ठुला जाती भन्नेहरु भन्दा दलित तल बस्नु पर्ने परम्परा अन्त्य हुँदै आर्थीक, सामाजिक र शैक्षिक रुपमा दलित समुदाय अब सक्षम हुँदै गएको बताइन् । उनले एमालेको नीति र बिधान उत्पीडित समुदायको पक्षमा रहेता पनि दलित समुदायको बिषयमा आवाज उठाउँदा एक्लै हुनु पर्ने बाध्यता खेप्नु परेको र दलित भित्रको एकता नहुनुको कारण तनहुँ जिल्ला भरिमा एउटा पनि वडा अध्यक्ष दलित पाउन नसकेको बताइन् ।
उक्त कार्यक्रममा एमालेको गण्डकी प्रदेश अधिवेशनबाट प्रदेश कमिटि सदस्यमा निर्वाचित बाबुराम सुनारलाई जिल्लाको तर्फबाट अध्यक्ष भरत लामगादेले खादा लगाएर बधाई तथा सम्मान गरेका थिए ।