काठमाडौँ / नेपालीको भान्छामा वर्षमै अबौँ रुपैयाँको आलु र प्याज पाक्छ । यो सबै आयातित हो । नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ । कुल जनसंख्याको करिब ६२ प्रतिशतले कृषि पेसा अँगालेका छन् ।
कृषि गणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । तर पनि प्रत्येक नेपालीको भान्छामा तरकारी स्वादिलो बनाउने आलु तथा प्याज आयातमा अबौँ रुपैयाँ बाहिरिएको तथ्याङ्क छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को पाँच महिनाको ६ अर्ब रुपैयाँ बराबरको आलु र प्याज आयात भएको छ ।
तथ्याङ्क अनुसार ५ महिनामा ६ अर्ब १२ करोड रुपैयाँ बराबरको २० लाख ८९ हजार क्विन्टल आलु र प्याज आयात भएको हो । यस्तै, आलु र प्याज आयात गर्दा सरकारले १ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
५ महिनाको अवधीमा चीन, भारत, इन्डोनेसियाबाट ४ लाख ६३ हजार क्विन्टल प्याज आयात हुँदा १ अर्ब ९४ करोड रुपैयाँको बाहिरिएको छ ।
यस्तै, १६ लाख २५ हजार क्विन्टल आलु आयात हुँदा ४ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । मंसिरसम्ममा नेपालमा भारतबाट र इण्डोनेसियबाट आलु आयात भएको हो ।